काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेलमा सुविधा सम्पन्न क्रिकेट एकेडेमीको भव्य उद्धाटन गरीएको छ ।
हिजो सोमबार क्यानका अध्यक्ष चतुर बहादुर चन्दले उक्त एकेडेमीको उद्धाटन गरेका हुन् ।
काठमाडौंको उत्तरी भेगमा करिब ११ रोपनी क्षेत्रफलमा काठमाडौं क्रिकेट एकेडेमी (केसिए) सञ्चालनमा आएको हो । व्यवसायी तथा क्रिकेटप्रेमी सबिन कार्कीले तीन करोड लगानीमा इन्डोर र आउट ट्रेनिङ ग्राउन्डसहित एकेडेमी सञ्चालनमा ल्याएका हुन् ।
पाँच वटा पिच, बलिङ मेसिन, बलरले फ्याँक्ने बलको स्पिड मापन गर्ने (स्पिडो मिटर), जिम हल र प्रतियोगिता खेल्न मिल्ने क्रिकेट मैदानसहित सुविधासम्पन्न एकेडेमी सञ्चालनमा ल्याइएको छ ।
एकेडेमीमा बनेका पाँच वटा पिचको फरकफरक विशेषता पनि छ । दुई वटा रातोमाटोको टर्प पिच छन् ।
नेपालमा २०/२१ वर्षदेखि पिच बनाउन काम गरिरहेका क्युरेटर अजय पाण्डेले पिच निर्माण गरेका हुन् । माटोको टेस्ट गरेर मात्र पिचमा राखिएको अनुभवी क्युरेटर पाण्डेले जानकारी दिए । काठमाडौं क्रिकेट एकेडेमी (केसिए)का प्रबन्ध निर्देशक कार्कीले नेपालकै सबैभन्दा ठूलो (३३ हजार स्क्वायर फिट) को अन्तर्राष्ट्रियस्तरको आउट डोर प्राक्टिस टर्प पिच पनि रहेको बताए । फास्ट बलरका लागि पर्याप्त रन अप पुग्ने स्पेसहित पिच तयार पारिएको छ ।
हाल एकेडेमीमा १०० जनाले क्रिकेट सिकिरहेका छन् । प्रबन्ध निर्देशक कार्कीले एकेडेमीबाट सिकेर राष्ट्रिय खेलाडी बन्ने सपना लिएका खेलाडीका लागि आफ्नो एकेडेमी राम्रो माध्यम रहेको विश्वास व्यक्त गरेका छन्।
उक्त एकेमेमीको प्रमुख प्रशिक्षकको भुमिका सुदुरपश्चिम रोयल्सका कोच जगत टमाटाले गर्ने भएका छन् ।
