सामाजिक सञ्जालको भित्तोमा टाँसिएका यी केही शब्दहरू केवल अक्षरको थुप्रो थिएनन्, यो एउटा टुक्रिएको मुटुको अन्तिम चित्कार थियो, एउटा निराश आत्माको अन्तिम बिदाइ थियो, र एउटा अधुरो प्रेम कथाको दुःखद अन्त्यको घोषणा थियो । रिनेश घिमिरेले आजभन्दा एक साताअघि आफ्नो फेसबुकमा यो स्टाटस लेख्दा सायद धेरैले यसलाई प्रेममा पाएको धोकापछिको क्षणिक आवेग ठाने होलान् । तर, त्यो आवेग क्षणिक थिएन, त्यो उनको जीवनको अन्तिम निर्णय थियो ।यो स्टाटस लेखिएको १५ मिनेटको छोटो अन्तरालमा, चापागाउँस्थित टौखेलमा रिनेशको रुमको ढोका मात्रै बन्द भएन, जीवनको ढोका नै बन्द भयो ।
अब रिनेशको फेसबुक र टिकटक सदाका लागि सुनसान हुनेछ । उनका हजारौँ फलोअर्सले अब कहिल्यै उनको नयाँ भिडियो हेर्न पाउने छैनन्, जहाँ उनी मुस्कुराउँदै जीवनका रमाइला पलहरू बाँड्थे । उनको प्रोफाइल अब एउटा जीवन्त डायरी होइन, एउटा दुःखद स्मारक बनेको छ, जहाँ मानिसहरू उनको हाँसोमा लुकेको पीडा खोज्न आउँछन् । किनकि, रिनेश अब यो संसारमा छैनन्, तर उनले छोडेर गएका प्रश्नहरू, पीडाहरू र एउटा नमेटिने घाउ हामीमाझ जीवितै छ ।
भनिन्छ, प्रेम अन्धो हुन्छ । आजको डिजिटल युगमा यो प्रेम अझ पारदर्शी र चम्किलो देखिन्छ । टिकटकका भिडियोहरू, फेसबुकका ट्यागहरू, र इन्स्टाग्रामका कथाहरूमा झाँगिने प्रेम हेर्दा लाग्छ, यो कहिल्यै टुट्दैन, कहिल्यै ओइलाउँदैन । रिनेश घिमिरे र दोलखाकी सुप्रिया खड्काको प्रेम पनि यस्तै थियो— डिजिटल संसारमा उदाहरणीय । काठमाडौँको बालाजुमा बस्दै आएकी सुप्रिया र रिनेश लामो समयदेखि गहिरो प्रेम सम्बन्धमा थिए ।
उनीहरूको टिकटक प्रोफाइल खोल्ने हो भने पनि त्यहाँ उनीहरूको प्रेमको जीवन्त एल्बम भेटिन्छ । सँगै बनाएका दर्जनौँ भिडियोहरूमा उनीहरूको निर्दोष हाँसो, एकअर्काप्रतिको समर्पण र भविष्यका मीठा सपनाहरू छर्लङ्ग देखिन्थे । कुनै भिडियोमा उनीहरू चर्चित प्रेम गीतमा ओठ मिलाउँदै देखिन्थे, कुनैमा रमाइला संवाद बोल्दै दर्शकलाई हँसाउँथे । उनीहरूको जोडीलाई हेरेर धेरैले भन्थे, “कस्तो सुहाएको जोडी !” उनीहरू सायद धेरै युवायुवतीका लागि ’रिलेसनसिप गोल्स’ थिए । सामाजिक सञ्जालमा उनीहरूले रचेको प्रेमको त्यो सुन्दर संसारमा कुनै दिन अँध्यारो छाउला भनेर कसले पो सोचेको थियो र !
तर, हरेक चम्किलो कुरा सुन हुँदैन भनेझैँ, सामाजिक सञ्जालमा देखिने हरेक हाँसो साँचो हुँदैन । पछिल्लो केही समययता रिनेश र सुप्रियाको सम्बन्धमा चिसोपना बढ्दै गएको थियो । जुन जोडी एकपल पनि नछुटिएला जस्तो देखिन्थ्यो, उनीहरूबीच कुराकानी हुन छाड्यो । जुन टिकटकमा उनीहरूको प्रेमको चर्चा हुन्थ्यो, त्यहाँ अब मौनता छाउन थालेको थियो । सम्बन्धमा आएको यो दरारको कारण के थियो, त्यो उनीहरू दुईलाई नै थाहा होला, तर यसको असर रिनेशको जीवनमा सुनामी बनेर आयो ।
सुप्रियासँगको यही खटपटले रिनेशलाई भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो । उनी गहिरो तनावमा थिए, तर बाहिरी दुनियाँका लागि उनी उही हँसिला रिनेश बन्ने कोसिस गरिरहेका थिए । उनले आफ्नो पीडा केही नजिकका आफन्त र साथीभाइलाई पोख्न खोजेका थिए । उनले बारम्बार आफू तनावमा रहेको र जीवनदेखि हार मान्न लागेको सङ्केत दिइरहेका थिए । तर, सायद उनको त्यो मौन चित्कारलाई कसैले गम्भीर रूपमा बुझ्न सकेन, वा बुझेर पनि परिस्थितिलाई सम्हाल्न सकिएन ।
आत्महत्या कुनै आकस्मिक घटना होइन, यो लामो समयदेखिको मानसिक पीडाको अन्तिम विस्फोट हो । रिनेशले पनि आफ्नो अन्तिम निर्णय लिनुअघि सहयोगका लागि हात फैलाउन खोजेका थिए । सामाजिक सञ्जालमा भाइरल भएको एउटा म्यासेजको स्क्रिनसटले उनको त्यो छटपटीलाई उदाङ्गो पार्छ ।
आफ्नो नाता पर्ने एक दाइलाई उनले लेखेका थिए, “मलाई त बाँच्नै मन छैन । एक वर्ष लभ गरेर पनि मलाई छोड्न खोजिरहेकी छे । १ महिना भयो कुरा नभएको ।”
यो केवल एक सन्देश थिएन, यो एक युवकको हारिसकेको मनको स्वीकारोक्ति थियो । जवाफमा दाइले उनलाई सम्झाउन खोजेका थिए, सायद उनले सोचेका थिए कि यो सामान्य प्रेमको झगडा हो । उनले लेखे, “किन चिन्ता गर्ने हो र, त्योभन्दा दामी दामी केटी पाइन्छ । चिन्ता नगर भाइ ।”
यो सान्त्वना गलत थिएन, तर रिनेशको पीडाको गहिराइ मापन गर्न यो अपर्याप्त थियो । उनको लागि सुप्रिया केवल एक ’केटी’ थिइनन्, उनी उनको संसार थिइन्, उनको भविष्यको सपना थिइन् । जब त्यो संसार नै भत्किन लाग्यो, अर्को संसार बनाउने हिम्मत उनमा थिएन । दाइको सान्त्वनाले उनको मन बदलिएन । उनले अन्तिम निर्णय लिइसकेको सङ्केत गर्दै लेखे, “बुबा-ममीलाई सम्झाइदिनु है दाइ ।”
यो अन्तिम वाक्यले देखाउँछ कि उनको मनमा परिवारको माया कति थियो, तर प्रेममा पाएको चोट त्योभन्दा गह्रुङ्गो भइदियो । त्यो कुराकानीपछि दुई पटक मिस भएको भिडियो कलको स्क्रिनसटले सायद अन्तिम पटक कसैको आवाज सुन्न चाहेको उनको इच्छालाई देखाउँछ, जुन अधुरै रह्यो ।
रिनेशको चरित्रको सबैभन्दा मार्मिक पक्ष अर्को भाइरल स्क्रिनसटमा देखिन्छ । जहाँ उनी आफैँ पीडाको अथाह सागरमा डुबिरहेका थिए, त्यही बेला उनी आफ्नी बहिनीका लागि बलियो खम्बा बनिरहेका थिए । बहिनीलाई सान्त्वना दिँदै उनले लेखेका थिए, “तिमी कहिल्यै आफूलाई कमजोर नठान के, बहिनी । दाइ छ नि । अरूले जे जस्तो भने पनि दुःख मान्नु हुँदैन । ढुक्क भएर बस, तिम्रो दाइ सधैँ हुनेछ तिम्रो साथमा ।”
बहिनीले जवाफ दिएकी थिइन्, “हस् मेरो दादा, कहिल्यै नबिर्सिनुहोला यो बहिनीलाई ।” र रिनेशको अन्तिम जवाफ थियो, “बिर्सिन्न नि कान्छी ।” उनले बहिनीलाई त बिर्सिएनन्, तर आफूलाई नै बिर्सिदिए । आफ्नो पीडाभन्दा बहिनीको आँसु पुछ्न महत्त्वपूर्ण ठान्ने त्यो दाइले आफ्नो जीवनको लडाइँ भने एक्लै हारे ।
पीडाको यो सिलसिला यतिमै रोकिएको थिएन । अर्को स्क्रिनसटमा उनले आफ्नो दाइ नाता पर्ने व्यक्तिलाई आफ्नो दुःखको कारण अझ स्पष्ट पारेका छन् । जब दाइले ’किन के भयो र ?’ भनेर सोध्छन्, रिनेशको जवाफले प्रेममा धोका पाउँदाको गहिरो चोटलाई दर्शाउँछ । उनले लेखेका थिए, “खै दाइ के भन्ने के भन्ने, आफैँले रोजेको जुत्ताले घोँच्यो । के भनूँ दाइ, अब त अति भयो । म त संसारमा नरहने विचार गरिरहेको छु ।”
’आफैँले रोजेको जुत्ताले घोँच्नु’ – यो उक्तिले उनको विश्वास, उनको सपना र उनको प्रेम कसरी उनकै लागि पीडाको कारण बन्यो भन्ने कुरालाई मार्मिक ढङ्गले व्यक्त गर्छ । उनले आफ्नो अन्तिम निर्णयको सङ्केत बारम्बार दिइरहेका थिए, तर शब्दमा व्यक्त भएको यो पीडालाई कसैले व्यवहारमा रोक्न सकेन ।
रिनेशले संसार छोडे, तर सामाजिक सञ्जालले उनलाई छोडेन । उनको मृत्युको खबर फैलिन नपाउँदै, उनको फेसबुक र टिकटक एकाउन्ट भाइरल भयो । उनको मृत्युले उनलाई जीवित हुँदाभन्दा बढी ’लोकप्रिय’ बनाइदियो । ११ हजार फलोअर्स भएको उनको टिकटक एकाउन्टमा हेर्दाहेर्दै ३१ हजारभन्दा बढी फलोअर्स पुगे । उनका हरेक पुराना भिडियोमा लाखौँ भ्यूज आउन थाल्यो, मानौँ मानिसहरू उनको मृत्युको कारण उनको हाँसोमा खोजिरहेका थिए । उनको अन्तिम फेसबुक पोस्टमा ३५ हजारभन्दा बढी लाइक र हजारौँ सेयरले एउटा दुःखद घटना कसरी डिजिटल ’कन्टेन्ट’ बन्छ भन्ने देखाउँछ ।
यो भाइरल हुनुको अर्को पाटो अझ डरलाग्दो थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले रिनेशकी प्रेमिका सुप्रियालाई निशाना बनाए । उनको टिकटक एकाउन्टमा घृणा र गालीको वर्षा हुन थाल्यो । मानिसहरूले उनलाई ’हत्यारा’ को संज्ञा दिए । “सुरुमा खाटसम्म पुर्यायौ, अनि घाटसम्म,” जस्ता निर्मम टिप्पणीहरूले उनको प्रोफाइल भरियो । सुप्रियाले पनि रिनेशको मृत्युपछि आफ्नो टिकटक मौन राखेकी थिइन्, तर उनको मौनताले भीडको आक्रोशलाई शान्त पार्न सकेन । एउटा सम्बन्धको अन्त्यले एकजनाको ज्यान लियो भने अर्कोलाई सामाजिक रूपमा बहिष्कार र चरित्रहत्याको सिकार बनायो ।
घटना सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रशासन पनि तात्यो । घटना घटेको पाँच दिनपछि, ललितपुर प्रहरीले रिनेशको फेसबुक पोस्टमा उल्लेखित युवती, सुप्रिया खड्कालाई पक्राउ गर्यो । जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, प्रहरीले सम्पर्क गरेपछि सुप्रिया आफैँ प्रहरी वृत्त चापागाउँमा उपस्थित भएकी थिइन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि उनीहरूको लामो प्रेम सम्बन्ध रहेको र पछिल्लो समय आएको खटपट नै रिनेशको आत्महत्याको कारण हुनसक्ने देखाएको छ । प्रहरीले सुप्रियामाथि ’आत्महत्या दुरुत्साहन’ को कसुरमा अनुसन्धान अघि बढाएको छ ।
कानुनले आफ्नो बाटो लेला, तर यस घटनाले कयौँ सामाजिक र मानसिक प्रश्नहरू खडा गरेको छ । के प्रेममा धोका दिनु वा सम्बन्ध तोड्नु कानुनी रूपमा अपराध हो ? के एक व्यक्तिको निर्णयको सम्पूर्ण दोष अर्को व्यक्तिलाई दिन मिल्छ ? सामाजिक सञ्जालको भीडले गर्ने ’डिजिटल न्याय’ कति जायज छ ? र सबैभन्दा महत्त्वपूर्ण, हामीले हाम्रा प्रियजनहरूले दिने मानसिक स्वास्थ्य सङ्कटका सङ्केतहरूलाई कहिले गम्भीरतापूर्वक लिने ?
रिनेश घिमिरेको कथा एउटा व्यक्तिको मात्र होइन, यो आजको युवा पुस्ता, डिजिटल प्रेम र मानसिक स्वास्थ्यको उपेक्षाको कथा हो । उनले आफ्नो स्टाटसमा लेखेका थिए, “बाउ–आमाको बुढेसकालको सहारा…” । आज ती बाउ–आमा कुन अवस्थामा होलान् ? जसले आफ्नो छोराको उज्ज्वल भविष्यको सपना देखेका थिए, उनीहरू आज उसको लाशको छेउमा बसेर आँसु बगाउन विवश छन् । जुन बहिनीलाई उनले ’दाइ छ नि’ भनेर ढाडस दिएका थिए, आज त्यो बहिनीले आफ्नो दाइलाई सदाका लागि गुमाएकी छिन् ।
रिनेशले सुप्रियालाई “उज्ज्वल भविष्यको शुभकामना” दिएर गए, तर उनको यो निर्णयले सुप्रियाको भविष्यलाई पनि प्रश्नको घेरामा छाडिदियो । प्रेमले जीवन दिन्छ, तर कहिलेकाहीँ यही प्रेमले जीवन लिने कारण पनि बन्दोरहेछ ।
