काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एक ऐतिहासिक र साहसिक निर्णय गर्दै सन् २०२६ को महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई सुम्पेको छ। यो घोषणासँगै नेपाली क्रिकेटले आफ्नो इतिहासकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता आयोजना गर्ने गौरव प्राप्त गरेको छ, जसले विश्व क्रिकेटको नजर अब काठमाडौंमाथि केन्द्रित गरेको छ।
सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी २ सम्म हुने यस क्रिकेट महाकुम्भले विश्वका १० उत्कृष्ट राष्ट्रलाई विश्वकपको सपना पूरा गर्न नेपालको भूमिमा उतार्नेछ। यो प्रतियोगिता केवल एक खेल आयोजना मात्र होइन, यो नेपाली क्रिकेटको क्षमता, पूर्वाधार र व्यवस्थापनको सबैभन्दा ठूलो अग्निपरीक्षासमेत हो।
विश्वकपको ढोका, प्रतिस्पर्धा घमासान
नेपालमा हुने यो छनोट प्रतियोगिता सामान्य हुनेछैन। यहाँबाट शीर्ष चार टोलीले सोझै इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने हुँदा प्रत्येक खेल ‘गर या मर’ को स्थितिमा हुनेछ प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरी लिग चरण, सुपर सिक्स र फाइनल खेलाइनेछ, जसले क्रिकेटको रोमाञ्चकतालाई उत्कर्षमा पुऱ्याउने निश्चित छ।
हालसम्म बंगलादेश, आयरल्याण्ड, नेपाल, थाइल्याण्ड र अमेरिकाले आफ्नो स्थान पक्का गरिसकेका छन्। अब अफ्रिका र युरोपबाट दुई-दुई तथा इस्ट एसिया-प्यासिफिकबाट एक टोली थपिँदा यो प्रतियोगिता विश्व क्रिकेटको शक्ति सन्तुलनको वास्तविक परीक्षण बन्नेछ।
सुनौलो अवसरसँगै चुनौतीको पहाड
आईसीसीको यो विश्वासले नेपाललाई विश्वमाझ चिनाउने सुनौलो ढोका खोलेको छ, तर यो अवसरसँगै अब विशाल चुनौतीको पहाड पनि खडा भएको छ। सफल आयोजनाका लागि नेपालले युद्धस्तरमा काम गर्नुपर्ने देखिन्छ ।
पूर्वाधारको महापरीक्षा: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र निर्माणाधीन मुलपानी मैदानलाई तत्काल अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गर्नुपर्नेछ। फ्लडलाइट, डिजिटल स्कोरबोर्ड, खेलाडी र दर्शकका लागि अत्याधुनिक सुविधाबिना प्रतियोगिताको कल्पनासमेत गर्न सकिँदैन। यो सरकार र क्रिकेट संघ (क्यान) का लागि प्रतिष्ठाको सवाल बनेको छ।
क्यानको व्यवस्थापकीय अग्निपरीक्षा: १० अन्तर्राष्ट्रिय टोलीको आवास, सुरक्षा, यातायात र अभ्यासको चुस्त व्यवस्थापन गर्नु क्यानका लागि फलामको च्युरा चपाउनुसरह हुनेछ। सानो गल्तीले पनि देशको अन्तर्राष्ट्रिय बेइज्जत हुन सक्ने हुँदा व्यावसायिक र कुशल व्यवस्थापन अबको एकमात्र विकल्प हो। खेलाडीको तयारी, राष्ट्रको सपना: घरेलु मैदान र दर्शकको साथमा नेपाली टोलीलाई विश्वकपमा पुग्ने योभन्दा ठूलो अवसर कहिल्यै मिल्नेछैन। तर, सपना पूरा गर्न अबको डेढ वर्ष नेपाली टोलीलाई सघन प्रशिक्षण, अन्तर्राष्ट्रिय एक्सपोजर र बलिया टोलीहरूसँग निरन्तर अभ्यास खेलको सख्त आवश्यकता छ।
यो आयोजना नेपालका लागि केवल खेलकुद गतिविधि मात्र होइन, यो खेलकुद पर्यटनमार्फत आर्थिक लाभ लिने, अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सामर्थ्य देखाउने र देशका हजारौं छोरीहरूलाई क्रिकेटमा भविष्य खोज्न प्रेरित गर्ने एक राष्ट्रिय अभियान हो।
