काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डका अनुसार, कक्षा १२ मा यस वर्ष ६१.१७ प्रतिशत विद्यार्थीले परीक्षा उत्तीर्ण गरेका छन् , भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन् ।
कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि सुरु भएको थियो । परीक्षामा देशभरका पाँच हजार २०२ विद्यालयका तीन लाख ९५ हजार ९०८ विद्यार्थीहरु सहभागी भएका थिए । नियमिततर्फ एक लाख ९८ हजार ८७५ जना छात्र र एक लाख ९७ हजार १३ जना छात्राले परीक्षा दिएका थिए।
१७ जनाको परीक्षा रद्द पनि भएको : अध्यक्ष महाश्रम शर्माका अनुसार अमर्यादित गतिविधि गर्नेहरूको परीक्षाफल रद्द गरिएको हो । नियमित तर्फ ११ र आंशिक तर्फ ६ जना गरी जम्मा १७ जनाको परीक्षा रद्द भएको उनको भनाइ छ ।
यसैसँगै राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षा सम्बन्धी जानकारी पनि सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार, ग्रेड सुधारका लागि पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुनेछ ।
