काठमाडौँ । आफ्ना आलोचक र समर्थकको आवाज सुन्न नसकेर फेसबुकमा ‘कमेन्ट’ बन्द गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलको मैदान छाडेर राजनीतिक चाकडीको मैदानमा नयाँ ‘गोल’ गरेको छ। यो लज्जास्पद गोलले एन्फा फुटबल विकासका लागि हो वा राजनीतिक शक्तिको पूजाका लागि भन्ने प्रश्नलाई झनै गहिरो बनाएको छ।
सोमबार बागमती प्रदेशमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री नियुक्त हुँदा एन्फालाई यति धेरै खुसी लाग्यो कि उसले आफ्नो आधिकारिक फेसबुक पेजबाटै बधाईको वर्षा ग¥यो। बधाई पोस्टरमा अध्यक्ष पंकजविक्रम नेम्वाङको नाम टाँसेर यो कार्यलाई संस्थागत मात्र होइन, व्यक्तिगत चाकडीको तहमा पु¥याइयो। के फुटबल संघको काम राजनीतिक नियुक्तिमा बधाई दिएर नेता रिझाउनु हो? के एन्फा नेपाली कांग्रेस वा कुनै दलको भ्रातृ संगठन हो?
यो त्यही एन्फा हो, जसले महिला टिमको विवाद, अन्तर्राष्ट्रिय खेलमा लज्जास्पद हार र लिग सञ्चालनको ढिलाइबारे उठेका हजारौँ प्रश्नको सामना गर्न नसकेर ‘कमेन्ट’ गर्नै नमिल्ने बनाएको छ। समर्थकको आवाज सुन्ने आँट नभएको एन्फालाई नेताहरूलाई बधाई दिन भने कुनै लाज लाग्दैन। यसले प्रस्ट पार्छ— एन्फाका लागि समर्थकको आक्रोशभन्दा नेताको आशीर्वाद महत्त्वपूर्ण छ।
खसमा एन्फाको काम फेसबुकमा नेताको स्तुति गाउनु होइन, मैदानमा खेलाडी र खेलको स्तर उकास्नु हो। तर, उसको प्राथमिकतामा फुटबलभन्दा राजनीतिक सम्बन्ध हाबी भएको देखिन्छ।
