नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को जेन–जी आन्दोलनका क्रममा सेना परिचालन गर्न चाहेको खुलासा गरेका छन् । भदौ २३ र २४ को घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगलाई आइतबार लिखित बयान दिँदै ओलीले यस्तो बताएका हुन् ।
आयोगलाई दिएको बयानमा ओलीले आफूले सुरक्षा निकायबाट भरपर्दो सहयोग नपाएको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘भदौ २४ मा स्थिति नियन्त्रणबाहिर गएपछि सेना परिचालन गर्न चाहेको थिएँ। तर सुरक्षा निकायबाट अपेक्षित तथा भरपर्दो सहयोग नपाएको र थप रक्तपात हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मैले राजीनामा दिएर शान्तिपूर्ण निकास खोजेको थिएँ ।’
उनले प्रहरीको गोली चलाउने आदेश आफूले नदिएको दोहो¥याउँदै आन्दोलनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको आशंका व्यक्त गरेका छन् । ‘मैले शान्तिपूर्ण समाधान खोजेको थिएँ, तर स्थिति असामान्य बन्दा थप क्षति रोक्न राजीनामा दिन बाध्य भएँ,’ ओलीको बयान उद्धृत गर्दै आयोग स्रोतले जनाएको छ ।
गत भदौ २३ मा जेन–जी पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शन तथा सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवाको मागसहितको आन्दोलनमा प्रहरीको गोली लागेर दर्जनौं प्रदर्शनकारीको मृत्यु भएको थियो । भोलिपल्ट भदौ २४ मा आन्दोलन चर्किएर बालुवाटार घेराउ, सरकारी भवनमा तोडफोड र आगजनी भएपछि ओलीले राजीनामा दिएका थिए । त्यसपछि नेपाली सेनाको हेलिकप्टरमा उनि भागेका थिए ।
