नेपालको पुरानो र सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले लामो समयदेखिको आन्तरिक द्वन्द्वपछि निर्णायक मोड लिएको छ । कांग्रेसको इतर पक्षले भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा गगन कुमार थापालाई सर्वसम्मत रूपमा पार्टीको नयाँ सभापति चयन गरेसँगै पार्टी लगभग फटेको छ ।`
यो महाधिवेशनमा ५६ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको उपस्थितिमा नयाँ नेतृत्व स्थापना भएको छ ।
विशेष महाधिवेशनको पृष्ठभूमि र प्रक्रिया
करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूबाट विशेष महाधिवेशनको माग आएको थियो । पार्टी विधानअनुसार ४० प्रतिशत प्रतिनिधिको मागमा विशेष महाधिवेशन अनिवार्य हुने व्यवस्था छ ।
महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा यो महाधिवेशन पौष २८ गतेबाट सुरु भएको थियो ।
शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले यसलाई अवैधानिक ठहर गर्दै एकताका लागि लामो छलफल गरे पनि सफलता मिलेन । अन्ततः देउवा पक्षले गगन थापा, विश्वप्रकाश शर्मा लगायतलाई कारबाहीको घोषणा गरेपछि महाधिवेशनले नयाँ नेतृत्व चयनको बाटो रोज्यो । मध्यरातसम्म चलेको प्रक्रियामा पदाधिकारीहरू निर्विरोध निर्वाचित भए ।
गगन कुमार थापा सभापति चयन भए भने उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सर्वसम्मत चयन भए । महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेललाई पनि महाधिवेशनको हलले सर्वसम्मत रुपमा चयन गरेको थियो ।
यो टिममा युवा तथा मध्यम पुस्ताका प्रभावशाली नेताहरूको वर्चस्व छ, जसले परिवारवाद र गुटबन्दीबाट मुक्त पार्टीको घोषणा गरेका छन् ।
यो घटनालाई कांग्रेसको पुनर्जागरण वा विभाजन दुवै रूपमा हेरिएको छ ।
यो महाधिवेशनले सार्थकता पाएमा पार्टीमा लामो समयदेखि कायम रहेका वरिष्ठ नेतृत्वको एकाधिकार तोडिने छ ।
निर्वाचन आयोगले कुन पक्षलाई आधिकारिक मान्यता दिने भन्ने प्रमुख प्रश्न छ । दुवै पक्षले अझै पनि पार्टीको मूल धारका रुपमा आफुलाई दाबी गरिरहेका छन् ।
