काठमाडौँ । वाइवाइ उत्पादन सुरु भएको चार दशक पूरा भएको अवसरमा सीजी फुड्स नेपालले आफ्नो नयाँ उत्पादन ‘वाइवाइ क्लासिक’ बजारमा ल्याएको छ । कम्पनीले “उही स्वाद, उही याद” भन्ने नाराका साथ यसलाई सार्वजनिक गरेको हो ।
उपभोक्ताको पुरानो अनुभव र भावनालाई पुनः जीवन्त बनाउने उद्देश्यले ल्याइएको ७५ ग्रामको वाइवाइ क्लासिक प्याकेटको मूल्य रु ३० निर्धारण गरिएको छ । वाइवाइको मौलिक स्वादलाई कायम राख्दै यसलाई अझ परिस्कृत गरिएको र यसमा डिहाइड्रेटेड भेजिटेबल र चिली फ्लेक्स समावेश गरी स्वादलाई सन्तुलित बनाइएको कम्पनीको दाबी छ ।
सीजी फुड्सका बिजनेस हेड उपेन्द्र प्रधानले वाइवाइ नेपाली घर–परिवारको अभिन्न हिस्सा रहेको उल्लेख गर्दै यस संस्करणले उपभोक्ताको पुराना रमाइला पलहरूलाई ताजा बनाउने विश्वास व्यक्त गरे ।
नेपाली बजारमा ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको वाइवाइले हाल विश्व बजारको पनि ४ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ । अन्तर्राष्ट्रिय बजारमा वार्षिक २० प्रतिशतका दरले वृद्धि भइरहेको यो ब्रान्डले नेपाली उत्पादन विश्वस्तरमा प्रतिस्पर्धी रहेको पुष्टि गरेको कम्पनीले जनाएको छ ।
