वीरगन्ज : पर्सामा बुधबार एकै दिन १ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार बिहान गरिएको परीक्षणमा १सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।
वीरगन्ज कारागारका कैदीबन्दी ,सशस्त्र प्रहरी, नेपाली सेना, वीरगन्ज महानगरपालिकाका कर्मचारीसहित ११६ जनामा बुधबार बिहान संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
बुधबार वीरगन्ज कारगारका २७ जना कैदीबन्दीमा संक्रमण भेटिएको हो । यसअघि पनि कारगारमै १३ जनामा संक्रमण पुष्टि भएको थियो । यसैगरी वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणमा कार्यरत ३ जना सेना , वीरगन्ज भन्सार कार्यालयमा खटिएका ३ जना सशस्त्र प्रहरी र ४ नेपाल प्रहरीमा पनि बुधबार संक्रमण भेटिएको मेसु उपाध्यायले जानकारी दिए ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ४ र वडा नम्बर १० का ९/९ जना , वडा नम्बर २७ का ८ जना, वडा नम्बर १५ का ३ जना , वडा नम्बर १ , ८ र ९ का २/२ जना , वडा नम्बर ३ , २५ , २४ , १२ र १३ का १/१ जनामा पनि संक्रमण पुष्टि भएको हो । यस्तै, पर्साकै जगरनाथपुर गाउँपालिका ५ र जिराभवानी गाउँपालिका ३ का १/१ जनामा पनि संक्रमण भेटिएको हो ।
क्वारेन्टाइनमा बसेका, कन्टयाक्ट ट्रेसिङमा परेका तथा मास ट्रेसिङ र स्वचेच्छाले पैसा तिरेर परीक्षण गराएकाहरु गरी १सय १६ जनामा संक्रमण पुष्टि भएको मेसु उपाध्यायले बताए ।
पर्सामा हालसम्म एकै दिनमा यति ठूलो संख्यामा संक्रमण भेटिएको यो पहिलो हो । यसअघि गत आइतबार एकै दिन पर्सामा ७३ जनामा संक्रमण भेटिएको थियो । १ सय १६ जना संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या ७ सय ३० पुगेको जिल्ला स्वास्थय कार्यालय पर्साले जनाएको छ ।
थप २ जनाको मृत्यु
पर्सामा कोरोनाका कारणले थप दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार बिहान वीरगन्ज १५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको हो । उनमा साउन १९ गते राती कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।
यस्तै गत सोमबार राति उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमै मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका ८ की १८ वर्षीया युवतीमा भने मङगलबार राति संक्रमण पुष्टि भएको थियो ।
पर्सा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । साउनमा मात्रै पर्सामा १३ जनाको मृत्यु भएको हो ।
