नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य हुनुपर्ने बताएका छन्।
पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेलाई वार्ता आउन आह्वान गरे पनि अध्यक्ष केपी शर्मा ओली भने तयार नभएको उनले बताए।
उनले सर्वदलीय बैठकमा एमालेलाई बोलाए पनि उपस्थित नभएको बताए।
‘पटक-पटक प्रधानमन्त्रीले बैठक बोलाउने तर उहाँ(केपी शर्मा ओली) नआउने, मैले प्रधानमन्त्री र म भएर बालकोट जाऔं भनेको हो, प्रधानमन्त्रीले महाधिवेशनपछि भन्नुभएको छ’, शनिबार सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा उनले भने।
पार्टीले कारबाही गरेका सांसदहरू संसदले मान्यता दिएको भन्दै एमालेले संसद अवरोध गर्दै आइरहेको छ।
‘संसदमा माधव नेपाल देखिन भएन भनेका छन्, निर्वाचन आयोग र संसदले मान्यता दियो, उहाँहरू अदालत जानु भएको छ तर फेरि संसदमा अवरोध जारी छ’, उनले भने।
यसका साथै उनले अहिले देशको राजनीति दुई धारमा केन्द्रित रहेको बताए।
‘राजनीति दुई धारमा छ, एउटा संघीयता धर्मनिरपेक्ष ठीक छैन र अर्को यसलाई रक्षा गर्नुपर्छ भन्नेछ’,उनले भने।
