काठमाडौं महानगरपालिकाले बागमती र विष्णुमती नदी किनारमा १७ वटा पार्क निर्माणको कार्य अघि बढाएको छ।
सोमबार वडा नं १७ मा इन्द्रायणी गुरुयोजना अन्तर्गत इन्द्रायणी पार्कको शिलान्यास गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पार्क निर्माण भइरहेको जानकारी दिएका हुन्।
पार्कको लागत १ करोड ८० लाख रुपैयाँ रहेको छ। यो पार्क असारसम्ममा सम्पन्न गर्ने योजना रहेको महानगरले जनाएको छ।
‘विष्णुमती नदी किनारमा अहिले पाँच वटा पार्क निर्माण भइरहेको छ। कालीमाटी दोभानमा महादेव पार्क निर्माण हुँदैछ,’ महानगरका प्रमुख विद्यासुन्दर शाक्य भन्छन्, ‘१३ र १५ नम्बर वडामा पनि पार्क निर्माण भइहेको छ।’
उनले वडा नं १२, १८ र १९ को पनि पार्क निर्माणको अन्तिम चरणमा पुगेको र अहिले वडा नं १७ मा इन्द्रायणी पार्क शिलान्यास भएको बताए। यसअघि वडा नं १६ को चमतीमा पनि पार्क निर्माणको काम अघि बढेको छ।
प्रमुख शाक्यकाअनुसार बागमती किनारमा पनि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग समन्वय गरेर वडा नं ४, ५, ७, ३१, ३२ मा गरी करीब १२ वटा पार्क निर्माण भइरहेको र निर्माणको अन्तिम चरणमा पुगेको छ।
‘काठमाडौं महानगरपालिकामा जनप्रतिनिधिहरू निर्वाचित भएर आएपछि हामीले सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली प्रर्वद्धन गर्ने, पार्कहरूको निर्माण गर्ने योजना अघि बढाएका छौं,’ प्रमुख शाक्यले भने, ‘नदी किनारका जग्गालाई संरक्षण गरेर हरियाली कायम गर्ने जस्ता योजना पनि हामीले अघि बढाएका छौँ।’
महानगरले सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवर्धन तथा पार्क निर्माण कार्यलाई नीति, बजेट तथा कार्यक्रममा समेत प्राथमिकता दिएको छ।
‘सार्वजनिक जग्गाको संरक्षण गर्ने, हरियाली कायम गर्ने र स्थानीयहरूको अपनत्व रहने गरी एक वडा कम्तीमा एक पार्क निर्माणको अभियान अघि बढाएका हौं। जहाँ सार्वजनिक जग्गा छ, त्यहाँ त्यो जग्गाको संरक्षण गर्दै साना-ठूला पार्क बनाउँदै आएका छौं,’ मेयर शाक्यले भने।
उनले काठमाडौं आधुनिक र परम्परागत साँस्कृतिक विशेषता भएको शहर भएको भन्दै त्यसको पहिचान जोगाउनुपर्ने चुनौती रहेको पनि बताए।
प्रमुख शाक्यकाअनुसार निर्माणाधीन पार्कमा चौतारा, परम्परागत ढुंगेधारा, शौचालय र खुला व्यायमशाला रहने रहने भन्दै पार्क निर्माणसँगै जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका सबैका लागि मनोरञ्जन गर्ने र आनन्द लिने ठाउँ हुनेछ।
केही महिना अघि मात्रै ‘एक वडा एक पार्क निर्माण’ को नीति अनुरुप प्रमुख शाक्यले एकै दिन वडा नं ३२ मा करीब ४ रोपनी ११ आनामा निर्माण हुने ‘बागमती दोभान’ र ‘अमरावती’ दुई पार्कको शिलान्यास गरेका थिए। ती पार्क पनि अहिले निर्माणकै चरणमा छन्। महानगरले साना-ठूला गरी काठमाडौं महानगरपालिका क्षेत्रभित्र ५० भन्दा बढी पार्क निर्माण गरिरहेको उनको भनाइ छ।
