पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ।
बिहीबार बिहान वीरेन्द्रचोकमा राजतन्त्र पक्षधर युवाहरुले वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरीसँग झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ ।
२०६२/६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको शालिक तोडफोड भएको थियो। त्यसपछि वीरेन्द्रको शालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो । सो स्थानमा आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरु वीरेन्द्रको शालिक पुनःस्थापना गर्न भेला भएका थिए।
उनीहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको शालिक राखेका थिए। तर शालिक ‘फिक्स्ड’ गर्न नपाउँदै प्रहरीले हस्तक्षेप गरेको थियो। अहिले वीरेन्द्रको शालिक त्यहाँबाट प्रहरीले हटाइसकेको छ।
धम्बोझी चोकलाई अहिले प्रहरीले कब्जामा लिएर आवतजावत समेत गर्न दिएको छैन।
