काठमाडौँ । यति बेला सबै तिर दशैको चहलपहल चलीरहेको छ । गाउँघरमा दशैको हर्ष उल्लासले छप्पकै ढाकेको छ । तर भोजपुरको एउटा गाउँमा भने दशैको मुखैमा अत्यन्तै दुखद घटना घटेको छ । भोजपुरको आमचोकमा सात वर्षीया बालिकाको बलात्कार पछि हत्या गरिएको समाचार बाहिरिएको छ ।
आमचोक गाउँपालिका–६ टेङलुङछुक निवासी दीब बहादुर राईकी सात वर्षीया छोरी आकृति राईको बलात्कारपछि हत्या गरिएको हो । दुई दिनअघि देखि हराइरहेकी बालिकाको शव स्थानीय जंगलको गुफाको पानीमा डुबेको अवस्थामा शनिबार बिहान फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी सुदीप कुमार पाठकले दिएको जानकारी अनुसार बालिका गएको बिहीबार साँझ ६ बजेदेखि हराएकी थिइन्।
प्रहरी र स्थानीयले खोजी गर्ने क्रमममा शनिबार बिहान नौ बजे बालिकाको शव फेला परेको हो।बालिकाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय एक युवकलाई पक्राउ गरेको छ ।
बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २१ वर्षीय दीपचन्द्र राईलाई पक्राउ गरेको छ।शरीरको तल्लो भागमा कपडा नभएको अवस्थामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।
‘पक्राउ परेको व्यक्तिले बालिकाको बलात्कारपछि हत्या गरेको स्वीकारेको छ,’ पाठकले भने, ‘घटनाको विषयमा हामी थप अनुसन्धान गरिरहेका छौँ।’
