काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयहरूको नेपालीपन झल्कने नाम राख्न निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभाग प्रमुख सरस्वती पोखरेल सबै विद्यालयलाई पत्राचार गर्दै विद्यालयको नामाकरण गर्नको लागि प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेश गर्न अनुरोध गरिएको छ ।
‘काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था भएता पनि काठमाडौँ महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूको नाम नियमावलीमा भएको व्यवस्था बमोजिम भएको नदेखिएकाले नेपालीपन झल्कने नाम नभएका विद्यालयहरुले नियमावलीमा व्यवस्था भए बमोजिम विद्यालयको नामाकरण गर्नको लागि प्रक्रिया अघि बढाई १ महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित यस विभागमा निवेदन पेश गर्नुहुन अनुरोध छ’, बिहीबार प्रेषित पत्रमा भनिएको छ ।
