काठमाडौँ । बझाङको जयपृथ्वी नगरपालिका–११ सुइलका ३२ वर्षीय मदन बोहरा भारतको बैङ्लोरमा चौकीदारीको काम गर्थे। मदनसँग उनकी श्रीमती र छोराछोरी पनि बस्थे।
गत बुधबार राति ड्युटी सकेर उनी कोठामा पुगे। राति १२ बजेतिर खाना पकाउने क्रममा एक्कासी ग्याँस विस्फोट भयो। खाना पकाउने ग्याँस लिक भएर भएको आगलागीमा जलेर घाइते भएका मदनसहित परिवारका ५ जनाले संसार छाडे।
घटनापछि गम्भीर घाइते उनीहरूलाई उद्धार गरेर अस्पताल लगिएको थियो। उपचारको क्रममा स्थानीय भिक्टोरिया अस्पतालमा मृत्यु भएको आफन्त दामोदर धामीले बताए।
जलेर घाइते मदनका छोरा ५ वर्षीय प्रशान्तको घटना भएकै दिन मृत्यु भएको थियो। माइली छोरी ९ वर्षीया अनिताको शुक्रबार र श्रीमती ३० वर्षीया पे्रमजलाको शनिबार मृत्यु भएको हो।
मदनको आइतबार राति र जेठी छोरी १२ वर्षीया मिरिताको सोमबार बिहान उपचारको क्रममा निधन भएको धामीले जानकारी दिए।
‘परिवारको आर्थिक अवस्था निकै कमजोर थियो। घटनापछि चन्दा उठाएर उपचार गरिरहेका थियौँ,’ मृतकका आफन्त धामी भन्छन्, ‘तर परिवारको एक जनालाई पनि जोगाउन सकेनौँ।’
घाइते भएका बोहरा परिवारका ५ जनाको उपचारका लागि नेपाल र भारतमा आर्थिक सहयोग संकलन गरिएको थियो। उनीहरूको शरीर पूरै जलेको थियो। मृतक तीन जनाको बैङ्लोरमै अन्त्यष्टि गरिएको छ।
