काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विदेशको स्थायी आवासीय अनुमति (पीआर) राखेको उजुरी परेपछि छानबिन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई लिएर राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको हो ।
पहिलो चरणमा मन्त्री स्वयम्लाई पत्राचार गरेर जानकारी लिने तयारी भइरहेको सतर्कता केन्द्र स्रोतले जनाएको छ । केन्द्रका अनुसार श्रेष्ठले बैंक खाता खोल्दा आफू युरोपेली युनियन मातहतको देश पोल्यान्डको नागरिक भएको भनेर कागजात पेस गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
अख्तियारमा परेको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत राष्ट्रिय सतर्कता केन्द्रमा आइपुगेको बुझिएको छ । सतर्कता केन्द्र अहिले प्रधानमन्त्री कार्यालय मातहतमा रहने व्यवस्था छ । उजुरीका विषयमा छानबिन गर्न प्रधानमन्त्री कार्यालयले नै निर्देशन दिएको स्रोतले बतायो ।
सुमनाको विवाह पोल्यान्डका पत्रकार पाबल स्वाकिन्स्कीसँग भएको हो । उनले शिक्षामन्त्री भइसकेपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दा आफ्नो श्रीमानको विदेशी बैंक खातामा १ लाख ८९ हजार डलर ९करिब ३ करोड २२ लाख रुपैयाँ० र १ लाख ८० हजार पाउन्ड ९करिब ३ करोड ७ लाख रुपैयाँ० जम्मा रहेको उल्लेख गरेकी थिइन् ।
श्रीमानको परिवारले बिहेको बेला दिएको उपहार र आफ्नो पारिश्रमिकबापत उक्त रकम जम्मा भएको मन्त्री श्रेष्ठको सम्पत्ति विवरणमा उल्लेख छ । नेपालमा भने उनको आफ्नै खातामा एक करोड ५२ लाख रहेको देखाइएको छ । त्यसैगरी श्रीमान् पावल स्वाकिन्स्कीको पेन्सन र रिटायरमेन्ट फन्डलाई पनि उनले अन्य सम्पत्ति भनेर उल्लेख गरेकी छन् ।
नेपालको संविधानको धारा २९१ मा विदेशी पीआर भएको व्यक्ति कुनै पनि निर्वाचन, मनोनयन वा नियुक्त हुन नसक्ने व्यक्ति छ ।
