काठमाडौँ । हस्तकला व्यवसायीको सम्मान र व्यवसाय विश्वव्यापीकरणमा सहयोग गर्ने उद्देश्यले ‘हिमालयन इन्टरनेशनल एक्सपो’ आयोजना हुने भएको छ ।
राजधानी काठमाडौंको भृकुटीमण्डपमा यहि असोज १७ देखि १९ गतेसम्म एक्सपो आयोजना हुने भएको हो ।
हस्तकलाको यो बृहत प्रदर्शनीमा भक्तपुरको प्यालादेखि, कास्कीको पस्मिनासम्म । भोजपुरको खुकुरीदेखि संखुवासभाको करुवासम्म एउटै छानामुनी उपलब्ध हुने अध्यक्ष कपिल अधिकारीले बताए । हाल अमेरिकामा रहेका अधिकारीका अनुसार यो पटकको एक्सपोमा १५० भन्दा बढी स्टलहरु रहनेछन् ।
एक्सपोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहर लगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन पनि हुने नेपालमा रहेर एक्सपोको संयोजन गरिरहेका सोमत अधिकारीले बताए ।
एक्सपोको अन्य आकर्षणहरुमा भक्तपुरको प्याला, राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री पनि छन् । यतिमात्रै नभएर यसका साथै पश्मिना, स्टोन, माला, क्यूरियाको सामान, गलैंचा, गार्मेन्टका सामान, सिसा पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेण्ड मेड पेपरहरू, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तु, जडिबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु पनि रहने आयोजकले जनाएको छ ।
नेपाली उत्पादनको निर्यातलाई बढाएर देशलाई आर्थिक सम्बृद्धिको दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले सहयोग पु¥याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ । प्रदर्शनीमा सयौँ विदेशी व्यापारी तथा खरिदकर्ताहरु खासगरी अमेरीका, क्यानडा, यूरोप, चीन, भारत लगायत अन्य देशहरुबाट आउने पनि आयोजकले जनाएको छ ।
नेपाल हस्तकलाको प्रवद्र्धनमा लामो समयदेखि लागिरहेको हिमालयन एक्सपोले देशबाहिर पनि विभिन्न मुलुकमा मेला आयोजना गर्दै आएको छ । नेपाली उत्पादनलाई विश्वबजारमा सुलभ तरिकाले पु¥याउने उद्देश्यले अमेरिका, क्यानडा, बेलायत लगायतका देशमा पनि हरेक वर्ष एक्सपो हुने गरेको छ ।
केही महिनाअघि मात्रै संयुक्त राज्य अमेरिकामा एक्सपो सम्पन्न भइसकेको छ । असोजमा नेपालमा एक्सपो आयोजना गर्ने र त्यसपछि अन्य मुलुकहरुमा पनि हस्तकला एक्सपो आयोजना हुने आयोजकले जनाएको छ ।
नेपाली हस्तकला उद्योगलाई विश्वव्यापी बनाउँदै लैजाने उद्देश्यले विश्वका विभिन्न देशमा एक्सपो हुँदै आएको छ । एक्सपोमा स्वदेशी उत्पादक र विदेशी व्यापारीहरुको प्रत्यक्ष संलग्नता हुने भएकाले विश्वबजारमा नेपाली उत्पादनलाई सहज ढुंगले पु¥याउन यसले मद्दत गर्ने छ ।
