सरकारले जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने काठमाडौं उपत्यकाका होटल तथा रेष्टुरेन्ट बन्द गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भौतिक दूरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने होटल तथा रेष्टुरेन्ट बन्द गर्ने निर्णय गरेको हो।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने, ‘जसले जनस्वास्थ्यको मापदण्ड पालना गर्दैनन् त्यस्ता होटल तथा रेष्टुरेन्ट बन्द हुन्छन्।’ उनले मन्त्रालयबाट अनुगमन भइरहेको बताउँदै मापदण्ड पालना नगर्ने होटल तथा रेष्टुरेन्टहरू तत्काल बन्द हुने बताए।
यसअघि पनि अनौपचारिक रुपमा अनुगमन गर्दा भौतिक दूरी पालना नभएको र मास्क नललाइ ग्राहकलाई भित्र प्रवेश गराएको भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो।
मन्त्रालयले होटल तथा रेष्टुरेन्टहरूलाई व्यवस्थित गरेर चलाउन नसके बन्द गर्नु भनेर पत्राचार पनि गरिसकेको छ। पछिल्लो समय उपत्यकामा संक्रमित बढिरहेकाले होटल तथा रेष्टुरेन्ट जस्ता बढी आवतजावत हुने ठाउँलाई निगरानीमा राखिएको छ।
यी ठाउँहरूबाट संक्रमण चाँडो र सहजै सर्नसक्ने भन्दै कडाइ गर्न लागिएको हो। साउन ७ गतेबाट लकडाउन अन्त्य भएसँगै उपत्यकामा होटल तथा रेष्टुरेन्टहरू खुल्न थालेका हुन्।
