काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा निर्वाचन चिह्नको भौतिक स्वरूप (जस्तैः सक्कली घण्टी, डोजर वा खुकुरी) प्रयोग गर्न नपाउने गरी कडाइ गरेको छ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले ’घण्टी’ बजाउँदै देशव्यापी रूपमा आचारसंहिता उल्लंघन गरेको भन्दै व्यापक गुनासो आएपछि आयोगले यस्तो निर्णय लिएको हो। राप्रपाले विज्ञप्ति नै जारी गरेर “रवि लामिछानेका कार्यकर्ताले घण्टी बजाउँदै हिँड्दा आयोग किन मौन?“ भन्दै प्रश्न उठाएको थियो। कतिपयले यसलाई काठमाडौँका मेयर बालेन शाहको ’डोजर’ शैली जस्तै आक्रामक प्रचारको संज्ञा समेत दिएका थिए।
यो निर्णयसँगै अब रास्वपाले प्रचारमा घण्टी बजाउन पाउने छैन भने अन्य दलले पनि खुकुरी वा अन्य भौतिक हतियार जस्ता देखिने चिह्न प्रदर्शन गर्न पाउने छैनन्। आयोगले दलहरूलाई झण्डा र चुनाव चिह्नको सामान्य माध्यमबाट मात्रै प्रचार गर्न निर्देशन दिएको छ। रास्वपाले घन्टी बजाएर प्रचार गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको थियो।

