बेनी – असार २७ गते घर छोडेका धवलागिरी गाउँपालिका-६ कल्लेनीका रत्नप्रसाद पुन अझै फर्किएका छैनन् ।पहिरोको जोखिम बढेपछि घर छाडेर शिवाङको हेम माविमा बस्दै आएका पुन मंगलबार पोखरा गए। ‘वरिपरी पहिरोले घेरेर उराठ लाग्दो बनाएको छ । गाउँमा कोही पनि छैनन्,,’ उनले भने, ‘स्कुलमा कति बस्नु भनेर परिवारसहित पोखरा बस्ने निधो गरियो।’
माख्लाको भटीरबाट खसेको पहिरोले फेदीको पाखोमा रहेको कल्लेनी गाउँलाई मानवबिहीन बनाएको छ । गत असार २६ गते बिहान पहिरो खसेपछि अलपत्र परेका उनीहरुलाई उद्दार गरेर शिवाङ लगिएको थियो । गाउँपालिकाले अस्थायी बसोबासको व्यवस्था मिलाएको छ।
२८ परिवारका ५० भन्दा बढी मानिस करिब एक महिनादेखि विद्यालय भवनमा सामूहिकरुपमा बस्दै आएका छन् । ५ परिवार विद्यालयबाट ताकममा रहेका आफन्तकहाँ सरेका पहिरो पीडितको अगुवाई गरेका डिके पुनले बताए ।
‘कोही ताकममा भएका आफन्तको घरमा डेरा खोजेर बसेका छन् । पोखरा, काठमाडौ, बेनीमा आफन्त भएकाहरु उतै जान थाल्नुभएको छ,’ उनले भने, ‘पहिरोले गाउँ फर्कने अवस्था छैन् । घरमा पालिएका बाख्रा, कुखुरा, गाई, भैसी बिक्री गरिए।’
पाकेको मकैबाली भित्र्याउन र बारीमा लगाएको कोदो गोड्न नपाएको स्थानीय भेष पुनले बताए । घासपानी दिन जान नसकेपछि हलगोरु बारीमा छाडेको उनले बताए । शिवाङदेखि कल्लेनी पुग्न डेढ घण्टा हिड्नुपर्छ ।
खानेपानी आयोजनाको संरचना पहिरोले बगाएको छ । पहिरो खस्ने क्रम रोकिएको छैन् । गाउँमा जाने र निस्कने नाकाको बाटो पहिरोले भत्काएको छ । आउजाउमा जोखिम मोल्नुपर्छ । घर पहिरोले पुरिएपछि बहिनीकहाँ आश्रय लिएर बसेको कल्लेनीकी कमला घर्तीले बताइन् ।
पहिरोमा पुरिएर घर्तीकी सानीआमा जानीमा वेपत्ता र भाइ प्रकाश केसीको मृत्यु भएको थियो । प्रकाशको घरमा सुत्न गएका सबिन पुन वेपत्ता छन् । परदेवी पुन र वीरबहादुर पुनको घर पहिरोले बगाएको थियो ।
एक सय रोपनीभन्दा बढी धानखेत, कोदोबारी र सुन्तला बगैचा पहिरोले बगर बनाएको छ । मगर समुदायको बाहुल्य बसोबास भएको कल्लेनी साविक मराङ गाविसको ३ नम्बर वडामा पर्छ ।
सडक, विद्युत सुविधा पुगेको थियो । घरघरमा खानेपानी सुविधा थियो । सुन्तला खेतिलाई विस्तार गरेर आयआर्जनको माध्यम बनाउन थालेका थिए । ‘गाउँमा विकास र सुविधा आएपछि बसाइसराइ गरेर गएका पनि फर्कन थालेका थिए,’ स्थानीय तोरणबहादुर भण्डारीले भने ,’पहिरोले भएका मानिस पनि अन्यत्र गएर गाउँनै रित्तिनै अवस्था आयो ।’ दिर्घकालिन बसोबासका लागि गाउँमै फर्कने अथवा अन्यत्र बसाइसराइ गर्ने भन्नेमा कल्लेनीबासी अन्यौलमा छन् ।
गाउँमा जाँदा पहिरोको डर छ । अन्यत्र जाने घर, जग्गा छैन् । बजार क्षेत्रमा घर घडेरी जोडेकाहरु अब गाउँ नफर्कने मनस्थितिमा छन् । विकल्प नभएका बसोबासको चिन्ताले पिरोलिएका छन् ।
पहिरोका कारण धवलागिरी गाउँपालिकाको ६ नम्बर वडामा पर्ने कल्लेनी, राम्चे, रिख, कुम्रि र ठूलोगाउँमा १९ जनाको मृत्यु भएको छ । दुईजना वेपत्ता छन् । करिब ४० वटा घर भत्किएका छन् ।
दुई सयभन्दा बढी परिवार घर जोखिममा परेकाले विस्थापित भएका छन् । पुरै वडा पहिरोले चिरा, चिरा बनाएको वडा अध्यक्ष राजाराम सुवेदी बताउँछन् । पहिरोबाट घरबास गुमाएका र जोखिममा परेकाहरु विद्यालय, सामुदायिक भवन र टहरा बनाएर बसेका छन् । धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले पहिरोले मराङ, धारापानी, ताकम र काफलडाडाको बस्ती प्रभावित बनाएको बताइन् ।
‘सहरबजारमा घर घडेरीभएकाहरु त्यतै सरेर जान थालेका छन,’ उनले भनिन्, ‘बस्दै आएको ठाउँमा बस्न नमिल्ने र अन्यत्र केही नभएकाहरुको पहिचान गरेर स्थायी बसोबासका लागि एकिकृत बस्ती विकास गराउने छलफल चलाएका छौं।’
