नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधावकुमार नेपालले अध्यक्ष ओलीसँग आत्मसमर्पण नगर्ने बताएका छन्।
मंगलबार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएर आत्मसमर्पण नगर्ने बताएका हुन्।
उनले स्पष्टीकरणबाट आफूहरू नतर्सेको समेत बताए।
उनले भने, ‘आज एक जनाले विनम्र भावले भन्दै हुनुहुन्थ्यो केपी ओलीसँग मिल्नका लागि के गर्नुपर्यो भने उहाँले जेजे कारबाही गर्नुहुन्छ सहेर भए पनि, पार्टीबाट निकालि दिनुहुन्छ भने पनि पार्टीबाट निकालिए पनि चुप लागेर सहेर बसिदिनुहोस्। के त्यही बाटोमा हामी जाने हो ? के घुँडा टेक्ने बाटोमा हामी जाने हो ? हामी के आत्मसमर्पणको बाटोमा जाने हो ? के केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो ? यो कुरा हामीलाई किमार्थ मन्जुर छैन। त्यसो हुनाले केपी ओलीको यो कथित स्पष्टीकरणबाट हामी तर्सिएका छैनौं। हामी आतंकित भएका छैनौं। त्यसको सामना गर्न तयार छौं।’
ओली पक्षले सोधेको स्पष्टीकरणबाट भागेर मैदान नछाड्ने र पार्टी नफुटाउने पनि नेता नेपालले बताए।
अध्यक्ष ओली पार्टी विभाजनको पक्षमा रहे पनि आफूले पार्टी नफुटाउने स्पष्ट पारे।
उनले भने, ‘मलाई एक जनाले भन्नुहुन्थ्यो स्टेजमा बस्दाखेरि अनुहार उज्यालो गर्नुहोस्, अलि अँध्यारो अँध्यारो जस्तो भयो मुसुक्क हाँसिदिनुहोस्, म हाँस्ने प्रयत्न गर्दैथिए तपाईंहरूमा अलिकता पनि नपरोस् कि हामी तर्सेका छौं, केपी ओलीको स्पष्टीकरणबाट तर्सेका छैनौं। हामी मैदान छोडेर भाग्नेवाला छैनौं पार्टी हामी फुटाउँदैनौं। पार्टी फुटाउने केपी होली हुन्। पार्टी फुटाउँछन् भने ओलीले फुटाउँछन्, हामीले फुटाउँदैनौं। पार्टीलाई एकतावद्ध बनाउछौं।
आफू कहिले अलमलमा र दुविधामा नपरेको पनि नेता नेपालले स्पष्ट पारे।
आफूले चुनौतीको सामना गर्दै अगाडि बढ्ने उनले बताए।
उनले भने कस्ता कस्ता कहाँ आए केपी ओली मेरो सामुन्नेमा’।
केपी ओलीको अहिलेको चुरीफुरी प्रधानमन्त्रीको कुर्चीमा बस्दासम्म मात्रै हुने पनि नेता नेपालले बताए।
नेता नेपालले नेकपा एमाले आफूहरूको भएको पनि बताए।
केपी ओली बि–माले, सि–माले भएकाले पार्टी छोडेर गए हुने उनले टिप्पणी गरे।
उनले भने, ‘नेकपा एमाले हाम्रो हो। केपी ओलीको होइन। अब केपी ओलीले जालझेल गरेर कानूनी हिसाबले कब्जा गरे भने विचार गरौंला होइन भने नेकपा एमाले हाम्रो हो। केपी ओली बि–माले हुन, सि–माले हुन उनी यो पार्टी छोडेर गए हुन्छ।’
केपी ओली र आफूहरूको बीचमा प्रवृत्ति र विचारको लडाइँ भएको पनि नेता नेपालले बताए।
ओलीमा व्यक्तिवादी प्रवृत्ति रहेको र आफू जहिले संगठनलाई केन्द्रमा राखेर सोच्ने गरेको उनले बताए।
उनले भने, ‘हाम्रो प्रवृत्ति सामूहिकतावादी छ। आफूलाई व्यक्तिवादी, आफूलाई केन्द्रमा राखेर चल्ने प्रवृत्ति केपी ओलीमा छ। हामीले संगठनलाई केन्द्रबिन्दुमा राखेर चल्ने कुरालाई प्रोत्साहित गर्दछौं। हामीमा त्यो सङ्गठनवादी प्रवृत्ति रहेको छ।’
