काठमाडौं : दार्चुलाको शैल्यशिखर नगरपालिका १ घर भएका वासुदेव भट्टलाई दार्चुला पारीको भारतीय बजार बलुवाकोटमा रहेको क्वारेन्टाईनमा बसेको दुई साता भन्दा बढि भईसकेको थियो। क्वारेन्टाईनमै बसेका बेला मंगलवार दार्चुलास्थीत घरबाट उनलाई फोन गयो।
फोनमा आफन्तले बासुदेवलाई आमा (गोमती) बितेको खवर सुनाए। घरमा आमा बितेको खबर पाएपछि उनको आँखामा अहिले सम्म आँसु रोखिएको छैन्। मंगलवारदेखि नै उनी आमाको अन्तिम संस्कारमा सरिक हुन र काजकिरियाका लागि घर फर्किन हारगुहार गरिरहेका छन्।
आफ्नै जन्मभुमिको ढोका बन्द भएपछि उनी आमाको दाहसंस्कारमा त उपस्थित हुन पाएनन् काजकिरियाका लागि पनि नेपाल प्रवेशको अनुमती नपाएपछि उनी क्वारेन्टाईनमै किरिया बसेका छन्।
भारतीय प्रहरीले नेपाली पक्षले अनुमती दिए जतिबेला पनि जान दिन्छौ भनेको छ। तर नेपाली पक्षले नै मलाई घर फर्किन रोकिरहेको छ। अब महाकालीमा पौडी खेलेर पनि घर फर्किन्छु। तर पौडी खेलेर जाने अनुमती भारतीय पक्षले दिएको छैन्।’ भारतबाटै भट्टले भने।
संगै क्वारेन्टाईनमा बसेका दिलेन्द्रसिंह महताले दिनेश खवरलाई भने, भारतीय पक्षले जान दिन्छु भनेको छ। तर नेपालका धेरै नेता समक्ष हारगुहार गर्दा समेत केही भएको छैन्। अहिले बासुदेव क्वारेन्टाईनमै किरिया बसेका छन्।’
