काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको गतिविधि पर्याप्त कार्य नहुँदा सुस्ताएको छ। चालु आर्थिक वर्षका लागि दोस्रो पटक प्रस्तुत गरिएको बजेट पारित गर्न असोज ६ गते प्रदेश सभा बैठक बसेको भए पनि त्यसपछि बैठक हालसम्म बस्न सकेको छैन।
प्रदेश सभा सचिवालयका प्रवक्ता तेजप्रकाश जोशीका अनुसार पाँचौँ अधिवेशन अझै समाप्त भइसकेको छैन, तर बैठक कहिले बस्ने भन्ने निश्चित भएको छैन। “बैठक जतिसुकै बेला बस्न सक्छ, तर मिति र समय तय भएको छैन,” उनले बताए।
नयाँ विधेयक हालसम्म दर्ता नभए पनि यसअघि पेस गरिएका दुई विधेयक विचाराधीन अवस्थामा छन्। सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथी दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ। समितिले छलफल जारी राख्दै प्रतिवेदन तयार गर्ने क्रममा रहेको प्रवक्ता जोशीले जानकारी दिए।
प्रदेश सभाको सुस्त गतिले नीति निर्धारण, कानुन निर्माण, र समसामयिक छलफलमा अवरोध उत्पन्न गरेको भन्दै आलोचना भइरहेको छ। प्रदेश सभाबाट पारित गर्नुपर्ने केही महत्वपपूर्ण निर्णय तथा कानुन निर्माणको क्षेत्रमा प्रदेश सभा र प्रदेश सरकारको नेतृत्व गरिरहेका दलहरु नै विभाजित हुने गरेको आरोप समेत लाग्दै आएको छ ।
