काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई निराश नबनाउन र खुसी बनाएर फर्काउन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय सिम्रौनगढको नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको बुधबार उद्घाटन गर्दै आईजीपी कार्कीले सकल दर्जालाई सो निर्देशन दिएका हुन् ।
महानिरीक्षक कार्कीले प्रहरीको दैलोमा पुग्ने हरेक नागरिकको कुरा सुनेर न्याय दिनु प्रहरीको दायित्व भएको बताए । उनले भने, ‘हामी नागरिकका लागि काम गरिरहेका छौँ भन्ने कुरा व्यवहारमै प्रमाणित हुनुपर्छ ।’ प्रहरीको बोली बचन, आचरण र शैलीबाटै नागरिकले प्रत्यक्ष सेवाको अनुभूति गर्न सकेमात्र भौतिक संरचनाको अर्थ रहने उनले बताए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाजका अत्यन्त संवेदनशील वर्ग भएको उल्लेख गर्दै आईजीपी कार्कीले नव–निर्मित भवनले पीडितलाई सम्मानजनक वातावरणमा सेवा पाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
प्रविधिमैत्री प्रहरी र आपतकालीन ‘प्यानिक मोड’ प्रहरी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने सन्दर्भमा आईजीपी कार्कीले ‘नेपाल प्रहरी एप’ मार्फत घरबाटै उजुरी दर्ता र त्यसको प्रगति अनुगमन गर्न सकिने व्यवस्था विस्तार भइरहेको जानकारी दिए। साथै, आपतकालीन अवस्थामा तत्काल जीपीएस लोकेसनसहित सहायता माग्न सकिने गरी ‘प्यानिक मोड’ प्रणालीको विकास भइरहेको कार्कीले बताए।
पीडितको गोपनीयता, मर्यादा र सुरक्षालाई केन्द्रमा राखेर मात्र समाधान प्रक्रिया अघि बढाउन उनले प्रहरीलाई निर्देशन दिए । सीमित स्रोतसाधनका बाबजुद ४० डिग्रीको गर्मीमा सडकमा खटिने प्रहरीको कार्य वातावरण र सुरक्षामा पनि समान रूपले ध्यान दिनुपर्ने उनले बताए । उनले भने, ‘प्रहरी यही समाजका सदस्य हुन्, सडकमा उभिने प्रहरीलाई पनि घामपानीबाट जोगिने ओत आवश्यक हुन्छ।’
नवनिर्मित भवन युएनओपिएस को सहयोगमा निर्माण भएको हो । आईजीपी कार्कीले सहयोगप्रति आभार प्रकट गरेका छन् । युएनओपिएसले हालसम्म नेपाल प्रहरीका ४४ वटा सेवा केन्द्र भवन निर्माण सम्पन्न गरिसकेको र थप ८ वटा निर्माणाधीन अवस्थामा रहेको बताइएको छ।
