वरिष्ठ वामपन्थी नेता एवं नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा एमालेभित्रको अन्तरविरोधबारे मुख खोलेका छन् । नेता सिंहले माधव–झलनाथ पक्षको उच्च मूल्याङ्कन गर्ने बताउँदै केपी ओलीको बहिर्गमनबिना एमालेमा सार्थक एकता नहुने विश्लेषण गरेका छन् ।
‘अहिले ओलीको प्रतिगामी कदमलाई पराजित गर्नका लागि एमाले (नेपाल–खनाल पक्ष) को जुन महत्त्वपूर्ण भूमिका रहेको छ, त्यसलाई हामीले उच्च मूल्याङ्कन गर्दछौँ’ महामन्त्री सिंह भन्छन्, ‘अहिले उहाँहरूका अगाडि पैदा भएको जटिल स्थिति वा बाध्यताप्रति पनि हाम्रो ध्यान छ । अहिले एमालेभित्र भइरहेको एकताको प्रयत्नप्रति पनि हाम्रो ध्यान छ ।’
वामपन्थी नेता सिंह अगाडि भन्छन्, ‘हाम्रो पहिलेजस्तै अहिले पनि स्पष्ट विचार छ कि ओलीको स्वेच्छाचारिता र व्यक्तिवादी कार्यशैलीका कारणले नै अहिलेको स्थिति उत्पन्न भएको हो । त्यसैले ओलीको बर्हिगमनबिना एमालेको एकता प्रयत्नको कुनै सार्थक परिणाम ननिस्कने कुरा स्पष्ट छ । त्यसप्रति हामीले नेकपा (एमाले) का सबै पक्षहरूको ध्यान आकर्षित गर्न चाहन्छौँ ।’
