नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले सरकारदेखि संवैधानिक आयोगसम्म भागबन्डा खोजेर न्यायपालिकाको साख गिराउने काम प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेको
आरोप लगाएका छन् । बुधबार प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीहरूले उच्च अदालत जनकपुरको मूल ढोका अवरुद्ध गर्दै दिएको धर्ना र विरोधसभामा बोल्दै महासचिव पौडेलले
प्रधानन्यायाधीश जबराले आफ्नो स्वार्थ पूरा गर्नका लागि स्वतन्त्र न्यायपालिकामा राजनीतिक हस्तक्षेप बढाएकाले उनको बहिर्गमनको विकल्प नरहेको बताए ।
महासचिव पौडेलले न्यायपालिकामा विकृति तथा विसङ्गति बढेकाले यसमा सुधारको आवश्यकता रहेको पनि बताए । उनले यसको सुधारका लागि पेसी व्यवस्थापन गर्नुपर्ने समेत सुझाए । उनले भने,
‘न्यायपालिकामा राजनीतिक हस्तक्षेप बढ्यो । न्यायाधीश नियुक्तिबाटै राजनीतिक बढेको हो । न्यायपालिकाभित्र सुधार हुन आवश्यक छ ।’ उनले आर्थिक चलखेल बढ्न थालेपछि न्यायाधीशहरूले
समेत आर्थिक चलखेल हुने खालका मुद्दा मामिलाहरू मात्रै हेर्न थालेपछि न्यायपालिकामा भ्रष्टाचार बढेको समेत स्पष्ट पारे ।
