नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका छन्।
उनले महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग पटक-पटक यसबारे छलफल गरेका छन्।
१३ औं महाधिवेशनमा सभापति जिताउन शेरबहादुर देउवालाई आफूले सहयोग गरेको र त्यसबेला १४ औं महाधिवेशनमा देउवाले आफूलाई सघाउने प्रतिवद्धता जनाएको दाबीसहित आफू सभापति हुनुपर्नेमा निधि छन्।
उनले सभापति लड्छु भनेको अरूलाई सभापति छोड्नका लागि नभएको उनले बताए।
‘मैले सभापतिमा उम्मेदवारी दिएको मूल उद्देश्य के हो भने शेरबहादुर देउवा र रामचन्द्र पौडेल १३ औं महाधिवेशनका उम्मेदवार हुन्। उहाँहरूले जति काम गर्नुपर्ने थियो- देश र पार्टीको लागि गरिसक्नुभएको छ। उहाँहरूले अरू पनि काम गर्न बाँकी छ। फरक भूमिकामा उहाँहरूको सक्रियता हामीले अपेक्षा गरेका छौं।’
उनले आफू सभापतिमा उठ्ने भए पनि टिम बनाउन भने बाँकी नै रहेको बताए।
‘पहिला हामी सबै महाधिवेशन प्रतिनिधि भएर आउनुपर्यो। कांग्रेसको उम्मेदवार र मतदाता बन्नका लागि महाधिवेशन प्रतिनिधि बन्नै पर्छ। महाधिवेशन प्रतिनिधि चयन भइसकेपछि मात्रै टिम बनाउने हो। मेरो टिमको उपसभापति, महामन्त्री को हुने अनौपचारिक छलफल मैले गरिरहेको छु। बाहिर ल्याएको छैन। ल्याउनु जरूरी पनि छैन। समय आएपछि ल्याउँछु।’
हेर्नुस् भिडिओ:
