काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको मुख्य गेटमा रहेको डिजिटल बोर्ड ह्याक भएको छ। ह्याकरले बोर्ड ह्याक गरेर ‘आई लभ यू चित्रा’ लेखेर सन्देश सार्वजनिक गरेका छन्।
प्रहरी कार्यालयको यो बोर्डमा देखिएको सन्देशको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसले प्रहरी कार्यालयको साइबर सुरक्षा प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ।
प्रहरीका अनुसार घटना कसले र कसरी गर्यो भन्नेबारे अनुसन्धान भइरहेको छ। यसअघि पनि विभिन्न स्थानमा डिजिटल बोर्ड ह्याक गरी प्रेम प्रस्ताव राख्ने घटनाहरू सार्वजनिक भएका थिए। तर, प्रहरी कार्यालयजस्तो संवेदनशील संस्थाको बोर्ड ह्याक हुनु भने दुर्लभ र गम्भीर घटना मानिएको छ।
