उदयपुर १० साउन – आफ्नै बन्दुकले आफैलाई हान्दा उदयपुरमा एक व्यक्तिको ज्यान गएको छ । मदिरा सेवन गरेर घर पुगेका लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका विध्याराज राईले भरुवा बन्दुक आफ्नै निधारमा प्रहार गरी आत्महत्या गरेका हुन् ।
शुक्रबार राति ८ः३० बजेतिर घरमा पहिला नै भरेर राखेको बन्दुक राईले चलाउँदा घटना घटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोबिन्द पुरीले जानकारी दिएका छन् । घटना थप अनुसन्धान भइरहेको उनले बताए ।
आफ्नै निधारमा गोली प्रहार किन गरे र घटना कसरी घट्यो भन्ने अनुसन्धान भइरहेको डिएसपी पुरीले बताए । एक वर्षअघि मात्रै राईकी श्रीमतीले पनि विष सेवन गरी ज्यान गुमाएका थिइन् ।
