विराटनगर : पछिल्लो समय तीव्र रुपमा कोरोना संक्रमण फैलिइरहेको विराटनगरमा कोरोनाका १३ जना नयाँ संक्रमित थपिएका छन्। समुदायस्तरमा कोरोना फैलिएको विराटनगरमा पाँच महिला र आठ पुरुष गरेर बुधबारराति १३ जना नयाँ संक्रमित थपिएका हुन्।
कोशी अस्पतालको प्रयोगशालमा गराएको स्वाब परीक्षण रिपोर्ट बुधबार राति प्राप्त भएको महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले बताए। उनकाअनुसार रिपोर्ट पोजिटिभ देखिएका नयाँ संक्रमित विराटनगर महानगरपालिका–२, ६, ७, ८, १०, ११, र १३ वडाका छन्। कार्कीले उल्लेखित ठेगाना र नामको संक्रमित पहिचान र खोजी तथा व्यवस्थापनका लागि बिहीबार बिहानबाटै टोली खटिएको जानकारी दिए।
संक्रमितमध्ये तीन पुरुष र एक महिलाको उमेर खुलेको छैन। अरु २४ देखि ६० वर्ष उमेरसम्मका छन्। नयाँ १३ जना थपिएसँगै विराटनगरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक सय ८३ पुगेको छ।
