काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै छालारोग तथा सौन्दर्यसम्बन्धी सेवालाई व्यापक रूपमा विस्तार गरेको छ ।
सिनामंगलस्थित केएमसी अस्पतालले छाला, कपाल, नङसँग सम्बन्धित विभिन्न रोगहरूको निदान, उपचार तथा सौन्दर्य अभिवृद्धिका लागि आधुनिक उपकरणहरू र प्रविधिहरू जडान गरी सेवा सुरु गरेको हो । अस्पतालका अनुसार अब यहाँ अनुहारको चाया–पोतो, चाउरीपना, दाग, ट्याटु हटाउने, लेजर उपचारलगायत सुविधाहरू उपलब्ध छन् ।
छालारोग विशेषज्ञ डा. गरिमा रेग्मीका अनुसार हाल दैनिक सयौंको संख्यामा सेवाग्राहीहरू आउने गरेका छन् । महिलाहरूसँगै पुरुषहरू पनि सौन्दर्य तथा छालासम्बन्धी उपचारका लागि बढ्दो संख्यामा आउन थालेको उहाँले बताउनुभयो ।
अस्पताल प्रशासनले यो सेवा विस्तारले गुणस्तरीय र आधुनिक उपचार उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ । नेपाली कांग्रेसका युवा नेता सुनिल शर्मासँग जोडिएर चर्चामा रहेको केएमसी अस्पतालले स्वास्थ्य र सौन्दर्यलाई एकीकृत रूपमा हेर्ने प्रयास गरेको छ ।
यो सेवा विस्तारसँगै अब छालाका सामान्य रोगदेखि कस्मेटिक प्रक्रियाहरू पनि एकै ठाउँमा उपलब्ध हुने भएका छन् । अस्पतालले थप विशेषज्ञ चिकित्सकहरूको टोली र अत्याधुनिक मेसिनहरू थप गर्दै सेवालाई अझ प्रभावकारी बनाउने योजना बनाएको छ ।
सेवाग्राहीहरूले केएमसी अस्पतालको छाला विभागमा सम्पर्क गरी लाभ लिन सक्नेछन् । यो कदमले नेपालमा छालारोग तथा सौन्दर्य चिकित्साको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
