दार्चुला । शिल्यान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि जिल्लाका तीन स्थानमा निर्माण गरिने अस्पताल भवनको काम ठप्पप्रायः भएको छ । वि.सं २०७७ मसिंर १५ गते सरकारले दार्चुलाका विभिन्न सात स्थानमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको शिल्यान्यास गरेको थियो । शिलन्यास भएको लामो समय भइसक्दा पनि निर्माण सम्पन्न कहिले भइसक्छ भन्ने टुङ्गो छैन् । पालिकामा नै स्थानीयलाई सुलभ स्वास्थ्य सेवा दिने उदेश्यले सरकारले देशभरका सवै पालिकामा १० र १५ शैयाको अस्पताल निर्माण गर्ने निति लिएको छ । तर स्थानीय स्तरमा नै बन्न लागेका अस्पतालको काममा निर्माण कम्पनिले लापरवाही गर्दै आएका छन् ।
दार्चुलाका तीन वटा पालिकामा निर्माण हुन लागेका अस्पताल सुस्त गतिमा निर्माण भइहरेका छन् । लेकम, दुहुँ र ब्यास गाउँपालिकामा अहिलेसम्म अस्पतालको भौतिक संरचनाहरु निर्माण सम्पन्न हुन सकेका छैन् । अस्पताल भवन निर्माण नहुँदा, लेकम, दुहुँ र ब्यासका बासिन्दा बिरामी हुँदा छिमेकी पालिकाका अस्पताल, जिल्ला अस्पताल, भारतीय अस्पताल तथा धनगढी र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ ।
अस्पताल भवन समयमै निर्माण नहुँदा साधारण सेवाको लागि बाहिर जानुपर्ने बाध्यता रहेको लेकमका स्थानीय ललितसिंह खत्री बताउछन् । लेकम गाउँपालिकामा आर्थिक वर्ष २०७७।०७८ मा जगदम्बा यमुना जेभीले ठेक्का पाएको १० शैयाको अस्पताल भवन निर्माणको काम भर्खर मात्रै सुरु गरेको छ । कूल सात करोड लागतमा ठेक्का सम्झौता भएको अस्पताल निर्माणको लागि दुई पटक म्याद थप गरेपछि निर्माण अघि बढेको लेकम गाउँपालिका लेखा अधिकृत विष्टले बताए ।
लेकम गाउँपालिकामा मात्रै नभएर जिल्लाका अरु दुई पालिकाको अवस्था पनि यस्तै छ । दुहुँ गाउँपालिकामा पनि निर्माण गरिने १० शैयाको अस्पताल निर्माणको काम भरख्ै मात्रै सुरु भएको हो । गाउँपालिकामा १० शैया अस्पताल निर्माण थालिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीरसिंह धामीले जानकारी दिए । आव २०७७।७८ मायमुना, कौशिल जगदम्बा जेभीले कूल आठ करोड २९ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । तर पटक पटक म्याद थप गरेपछी अहिले आएर निर्माण कम्पनिहरुले निर्माण थालेको उनले बताए ।
यसैगरी, व्यास गाउँपालिकामा २४ करोड ७६ लाख ८५ हजारको लागतमा १५ शैयाको अस्पताल निर्माण सुरु भएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह कुँवरले बताए । यद्यपि अपि हिमाल गाउँपालिकामा निर्माण भइरहेको १० शैया अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो अस्पतालका लागि १० करोड ३३ लाखमा ठेक्का सम्झौता भएको थियो ।
सरकारले सवै पालिकाको केन्द्रमा १० र १५ शैयाको अस्पताल निर्माण गरी पालिकाबाट नै एमविविएस डाक्टरसहितको सेवा उपलब्ध गराउने उदेश्य लिएको छ । तर अधिकांस दुर्गमका पालिकाहरुमा अझैसम्म अस्पताल निर्माण हुन सकेको छैन्, भने निर्माण भएका अस्पतालहरुमा सोचेजस्तो चिकित्सकीय सेवा पाउन नसकिएको गुनासो आउने गरेको छ ।
