काठमाडौं । लामो समयदेखि प्रहरी सेवामा रहेर काम गर्दै आएका डिआइजी दानबहादुर कार्कीले गुल्मी जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख डिआइजी कार्कीले जिल्ला प्रहरी कार्यालय गुल्मीको स्थलगत निरीक्षण गर्दै कार्यरत कर्मचारीहरूलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन दिएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धान साथै जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती लगायत अपराध नियन्त्रणका लागि प्रहरीले गरेका विभिन्न गतिविधिहरू समेतको निरीक्षण गरि प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त एवं समय सान्दर्भिक बनाउन डिआइजी कार्कीले निर्देशन समेत दिएका छन् ।

निरीक्षणका क्रममा डिआइजी कार्कीले जस्तोसुकै विषम परिस्थितिमा पनि कति पनि बिचलित नभई समाजमा शान्ति सुरक्षा तथा अमनचयनको खातिर अहोरात्र तल्लिन रहन निर्देशन दिनुभयो । उनले भने ‘कुनैपनि प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट विमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनु पर्छ । आम नागरिकमा प्रहरीको सेवा र सुरक्षाका विषयमा विश्वास कमजोर हुँदै गएकाले प्रहरीले आफ्नो कामलाई कर्तव्यनिष्ठ भएर काम गर्नुपर्छ ।’

साथै सङ्गठनले अङ्गिकार गरेका नीति तथा कार्ययोजना एवं प्राथमिकताहरूलाई दृढताका साथ कार्यान्वयन गरि नतिजामुलक प्रहरी सेवा प्रवाह गर्न गराउन समेत उनले निर्देशन दिएका छन् । लामो समयदेखि प्रहरी सेवामा रहेका डिआइजी कार्कीले प्रहरीको छवि उच्च राख्नका लागी स्वच्छ छवि बनाएर काम गर्दै आएका छन् ।
