काठमाडौँ । आन्द्राको घाउको उपचार गर्न अस्पताल पुगेका गायक बिर्ख विश्वकर्माले करिब डेढ वर्षअघि आफूलाई ‘ब्लड क्यान्सर’ भएको हल्ला फैलाए ।
सहानुभूति बढाउन उनले आफू बेसहारा रहेको दाबी पनि गरे । दर्जनौँ लोकगीत गाइसकेको र मासमा समेत चिनिएकाले बिर्खप्रति सहानुभूति राख्नेहरूको कमी थिएन । गायन प्रतिभासमेत राम्रै भएको २२ वर्षे ठिटो जीवन र मृत्युको दोसाँधमा रहेको सुनेपछि स्रोता, दर्शकमा अनुकम्पा जाग्नु स्वाभाविकै थियो ।
यस्तोमा मोडल सञ्चिता शाही बिर्खलाई बचाउन भन्दै आर्थिक सहयोग अभियानको अगुवाइमा लागिन् । दैलेखकी उनले बिर्खलाई आफ्नो सबैभन्दा निकट भाइ भन्ने गरेकी छन् । दिनहुँजसो फेसबुकमार्फत सञ्चिताले बिर्खलाई सहयोग गर्न सार्वजनिक अपिल गरिन् । लाग्थ्यो, उनी नै बिर्खको निर्विकल्प सहारा हुन् ।
बिर्ख भरतपुर क्यान्सर अस्पतालमा छटपटाइरहेको भन्दै उनले थुप्रै भिडियो बनाइन् । पत्रकार सम्मेलन भनेर केही युट्युबर जम्मा पारेर सहयोगको अपिल पनि गरिन् । बिर्खसँगै बसेर भावुक हुँदै युट्युबमा अन्तर्वाता पनि दिइन् ।
चन्दा उठाउने तरिकाबारे सिपालु केही युट्युबरले बिर्ख रुँदै गरेको भिडियोे खिचेर अपलोड गरे । बिर्खको खबर सुनेर देश–परदेशमा भएका नेपालीले सप्रेम सहयोग गर्न थाले । कतिले बैंक क्यूआरबाट सिधै बिर्खको खातामा रकम जम्मा गरिदिए ।
कसैले चाहिँ बिर्ख र सञ्चितालाई साथै राखेर नगद बुझाए । बिर्खलाई चिन्नेले त सहयोग गरे नै, अरुले सहयोग गरेको देखेर पनि कतिपयले पैसा पठाए । तर, बिर्खबाहेक कसैलाई थाहा थिएन, उनको वास्तविक स्वास्थ्य अवस्था के हो भनेर ।
उनी नेपाल–भारत आउजाउ गरिरहन्थे । उनी हरेकपल्ट प्लेनमा चढेको, ओर्लेको भिडियो फेसबुकमा हालिरहन्थे । तर, अस्पतालको भने बाहिरबाट खिचेको फोटोसमेत हाल्दैनथे । तैपनि, आर्थिक सहयोग गर्नेहरू कमेन्ट गर्थे, ‘छिटो निको हुनू बिर्ख भाइ ।’
एयरपोर्टबाट आउँदै गर्दा उनले यतिसम्म नाटक गरिदिन्थे, मान्छे बिरामीजस्तो कतैबाट देखिँदैन तर ह्विल चेयरमा बसेर आउँथे । यसरी आएको केही दिनमै फेरि युट्युब अन्तर्वार्तामा सारसाउँदै हुन्थे ।
उनका लागि आर्थिक अपिल गर्ने युट्युबरहरूका अनुसार, करिब डेढ वर्षमा अनुमानित १ करोडभन्दा बढी रकम सहयोगबापत उठाइसकेपछि बिर्खलाई कहिल्यै ब्लड क्यान्सर नभएको खुलासा भएको छ । न त उनलाई अरु कुनै प्राणघातक रोग नै पुष्टि भएको छ । खासमा उनले आफूलाई ब्लड क्यान्सर भएको झुटो प्रचार गरेका थिए ।
बिर्खलाई भरतपुर अस्पतालले दिएको स्वास्थ्य परीक्षण रिपोर्ट हालै सार्वजनिक भएको छ, जसमा उनलाई ब्लड क्यान्सर भएको कतै उल्लेख छैन । त्यो बेला उनी आन्द्रामा घाउ भएर अस्पताल भर्ना भएका थिए । खासमा उनले ब्लड क्यान्सरको भनेर सुगरको औषधि देखाउँथे । युट्युबरहरू त्यसैलाई विश्वास गरेर भिडियो बनाउँथे ।
उनको झुट खुल्ने अस्पतालको रिपोर्ट सार्वजनिक भएपछि केही दिन बेपत्ता भएका बिर्ख हालै केही युट्युबरको सम्पर्कमा आएका छन्, जसमा उनले दिल्लीको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा जाँच गराएको भनी दाबी गरेको रिपोर्ट पनि सबै हराएको बताएका छन् ।
दुई्तीन महिनाअघिसम्म सहयोग माग्दै भिडियो बनाउने युट्युबरहरू अहिले बिर्खले इमोसनल ब्ल्याकमेल गरी सबैलाई ठगेको आरोप लगाइरहेका छन् ।
यो प्रकरणमा मोडल सञ्चितालाई पनि धेरैले शङ्काको नजरले हेरेका छन् । किनकि, बिर्खका लागि चन्दा उठाउने अभियान उनैले सुरु गरेकी थिइन् । उनी प्राय बिर्खसँगै हुन्थिन् । उनी बिर्खलाई बचाउनुप¥यो भन्दै भिडियोमै रुन्थिन् । उनकै अपिलमा धेरैभन्दा धेरै सहयोग आएको मानिन्छ ।
बिर्खका लागि सहयोग माग्ने क्रममा उनले किमो चढाउँदा हरेक महिना डेढ लाख रुपैयाँ खर्च हुने गरेको दाबी गरेकी थिइन् । त्यसैले बिर्खले सञ्चितालाई समेत भ्रममा राखेर यस्तो ठगी गरे भनेर धेरैले पत्याउन सकेका छैनन् ।
सोसल मिडियामा धेरैले प्रश्न उठाएपछि सञ्चिताले आफू पनि ठगिएको स्पष्टीकरण दिएकी छन् । बिर्खले ठगेको निचोडमा पुगेकी उनले नक्कली पीडितलाई सहयोग मागेकोमा माफीसमेत मागेकी छन् । नक्कली आँसु बेचेर बिर्खले असुलेको चन्दा फिर्ता गर्नुपर्ने र यसका लागि आफूले पनि पहल गर्ने उनले बताएकी छन् ।
झुटको पोल खुल्नुअघि बिर्खलाई अरु कतिपय कलाकार र अभियन्ताले पनि सहयोग जुटाउन सघाएका थिए । कतिले फेसबुक र टिकटकमा भिडियो बनाएर, कतिले स्टाटस लेखेर उपचार खर्च मागिदिएका थिए ।
कसैले उनले गाएका गीतको भिडियोमा निःशुल्क अभिनय गरिदिए, कसैले सित्तैँमा म्युजिक भिडियोको प्राविधिक काम गरिदिए ।
कलाकार दीपाश्री निरौला, मिथिला शर्मा, निर्मल शर्मा, रमेश बुढाथोकीलगायतले बिर्खको म्युजिक भिडियो ‘उनी त मेरै हुनेवाली हुन्’ मा पारिश्रमिक नलिईकनै अभिनय गरिदिएका थिए । पोस्ट–प्रोडक्सनलगायतका प्राविधिक काममा उल्टै उनीहरूले खर्च गरिदिएका थिए ।
यसरी बिर्खलाई क्यान्सरपीडित भनी सहानुभूति जनाएर धेरैले सहयोग गरेको देखिन्छ । तर, बिर्खले ढाँटेर सहयोग राशिको दुरुपयोग गरेको भनी यतिबेला सोसल मिडियामै सत्तोसराप भइरहेको छ । निःस्वार्थ उनका लागि सहयोग मागिदिने कतिपय अभियन्ता यतिबेला लज्जित महसुस गरिरहेका छन् । कतिपयले सामाजिक सञ्जालबाटै माफी मागेका छन् ।
नक्कली क्यान्सर पिडितको ट्याग लागेका बिर्ख केही दिन बेपत्ता भएका थिए । अहिले उनी विभिन्न संचारमाध्यममा अन्तवार्ता दिइरहेका छन् । -शिलापत्र
