काठमाडौँ । नेपाली क्रिकेट टोलीका सिनियर खेलाडीहरू कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, र रोहित पौडेलले स्कटल्याण्डमा हालै सम्पन्न त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम राखेको चर्चा सेलाउन नपाउँदै, १६ वर्षमुनिका युवा खेलाडीहरूले पनि आफ्नो क्षमता प्रदर्शन गरेका छन्। सिंगापुरमा जारी एसीसी यू-१६ इस्ट जोन कप मा नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली सिंगापुरलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। यो जितले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको स्पष्ट संकेत दिएको छ।
सिंगापुरको सानो योगफल र नेपाली बलरको कमाल
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले सिंगापुरलाई १३५ रनमा अलआउट गर्न सफल भयो। नेपाली टोलीका कप्तान विपिनप्रसाद शर्मा ले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएर सिंगापुरको ब्याटिङ लाइनअपलाई ध्वस्त पारे। उनले आफ्नो स्पेलमा ३४ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए।
सिंगापुरका कप्तान रियान नाइकले ५३ बलमा ५३ रनको अर्धशतकीय पारी खेल्दै आफ्नो टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्याउने प्रयास गरेका थिए। यस्तै, ओपनर आहान भुथान्दमले ३२ बलमा आक्रामक ३८ रन जोडेका थिए। सिंगापुरले ६५ रन बनाउँदासम्म २ विकेट मात्रै गुमाएको थियो, जसले उनीहरू ठूलो स्कोरतर्फ अग्रसर रहेको संकेत दिएको थियो। तर, त्यसपछि नेपाली कप्तान विपिनप्रसाद शर्मा खेलमा हावी भए। उनले सिंगापुरको मध्यक्रम ध्वस्त पार्दै थप ७० रन जोड्दा ८ विकेट झारे।
विपिनलाई साथ दिँदै सचित भट्टले पनि ६ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। यस्तै, अभय यादव र शुभम खनाल ले १-१ विकेट लिएर नेपालको जितमा योगदान दिए।
प्रसिद्ध जैसीको धैर्यपूर्ण अर्धशतक र रौनक श्रीवास्तवको आक्रामक पारी
सिंगापुरले दिएको १३९ रनको सामान्य लक्ष्य नेपालले १६.३ ओभर बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो। नेपाललाई लक्ष्यसम्म पुर्याउन ओपनर प्रसिद्ध जैसी ले महत्त्वपूर्ण भूमिका खेले। उनले ९१ बलमा अविजित ५५ रन बनाउँदै धैर्यपूर्ण ब्याटिङको उत्कृष्ट नमुना प्रस्तुत गरे। उनको पारीमा १६ वर्षमुनिका खेलाडीमा बिरलै देखिने परिपक्वता झल्किन्थ्यो।
प्रसिद्धसँगै अर्का ओपनर सूर्यान्सु कोइराला ९ रन बनाएर ब्याटिङका क्रममा घाइते भई मैदानबाट बाहिरिएपछि तेस्रो नम्बरमा आएका रौनक श्रीवास्तव ले प्रसिद्धसँग मिलेर बलियो साझेदारी गरे। रौनकले आक्रामक शैलीमा खेल्दै ४४ बलमा ४० रन जोडे। प्रसिद्ध र रौनकको यो साझेदारी नै नेपालको जितको मुख्य आधार बन्यो। उनीहरूको समझदारी र एकअर्कालाई पूरक बनेर खेल्ने क्षमताले नेपाली टोलीलाई सहज जित दिलायो।
