काठमाडौँ । सोमबार राति, रुकुम पश्चिमको दुर्गम पहाडी इलाका अँध्यारोको घुम्टोभित्र निदाइसकेको थियो। समयले रातको पौने ११ बजेको संकेत गरिरहेको थियो। बाहिर चकमन्न शान्ति थियो, तर आठबिसकोट नगरपालिका–१४ मा अवस्थित घेत्ला स्वास्थ्य चौकीको वर्थिङ सेन्टरभित्र भने एउटा जीवनको कोलाहल चलिरहेको थियो। एक गर्भवती महिला प्रसव पीडाको चरमोत्कर्षमा थिइन्। ती १८ वर्षीया युवती, जो आफैंमा कलिलो उमेरकी थिइन्, जीवनको सबैभन्दा कठिन तर पवित्र परीक्षाबाट गुज्रिरहेकी थिइन्। उनको छटपटी र पीडालाई कम गर्न र शिशुलाई सुरक्षित रूपमा संसारमा स्वागत गर्न दुईजना नर्सहरू आफ्नो सम्पूर्ण ज्ञान, सीप र धैर्यका साथ खटिएका थिए। बाहिर, गर्भवतीका आफन्तहरू चिन्तित अनुहार लिएर प्रतीक्षारत थिए। उनीहरूको श्वास नै वर्थिङ सेन्टरभित्रबाट आउने कुनै पनि शुभ समाचारको आशामा अड्किएको थियो। यो एउटा संवेदनशील घडी थियो, जहाँ हरेक सेकेन्डको महत्व थियो। स्वास्थ्यकर्मीहरू पूर्ण रूपमा एकाग्र थिए, किनकि उनीहरूलाई थाहा थियो, यस्तो अवस्थामा सानो गल्तीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्थ्यो।
तर, त्यो रात घेत्ला स्वास्थ्य चौकीको भाग्यमा जीवनको उत्सव मात्र लेखिएको थिएन। नियतिले त्यहाँ आतंक, त्रास र हिंसाको एउटा कालो अध्याय पनि कोर्दै थियो। त्यो शान्त र संवेदनशील वातावरणलाई भंग गर्दै, बाहिर गेटबाट एउटा अनियन्त्रित आवाज नजिकिँदै आयो। रातको अँध्यारोमा, एक व्यक्ति जथाभावी बोल्दै, लरखरिँदै, खातमा खसी रागां ढलाउने खुडा बोकर स्वास्थ्यकेन्द्रको गेटबाट भित्र पसे। उनको प्रवेशसँगै, वर्थिङ सेन्टरभित्रको एकाग्रता र बाहिरको प्रतीक्षाको शान्ति भंग भयो। नर्सहरू, पीडामा रहेकी गर्भवती महिला र उनका कुरुवाहरू सबै सशंकित भए। कसैले सोचेकै थिएन कि जीवन र मृत्युको दोसाँधमा रहेको यो पवित्र स्थलमा केही बेरमै एउटा भयावह ताण्डव सुरु हुन लागेको छ।
भित्र पस्ने व्यक्ति थिए, स्थानीय २४ वर्षीय तिलक मल्ल। स्वास्थ्य चौकी नजिकै मासु पसल चलाउने उनी त्यस रात मदिराले पूरै चुर थिए। मदिरा पिएर लठ्ठ भएका उनी सिधै वर्थिङ सेन्टरतिर लम्किए, जहाँ प्रसव प्रक्रिया चलिरहेको थियो। उनले प्रसूति कक्षमै प्रवेश गर्न खोजे।
भित्रको दृश्य देखेर नर्सहरू अत्तालिए। उनीहरूले तुरुन्तै स्वास्थ्यकेन्द्रका प्रमुख देव चन्द ठकुरीलाई बोलाए। खबर पाउनासाथ ठकुरी आइपुगे। उनले तिलकलाई शान्त गराउने प्रयास गरे। “भाइ, यहाँ भित्र जानु हुँदैन। एकजना बहिनी सुत्केरी हुने क्रममा हुनुहुन्छ। यो एकदमै संवेदनशील ठाउँ हो। तपाईं बाहिर बसेर सहयोग गरिदिनुस्,“ ठकुरीले नरम स्वरमा सम्झाए।
तर, मदिराले मातिएका तिलकको कानमा यी शब्दहरूको कुनै असर परेन। उनी गर्भवती महिलाको कोही नाता पर्ने व्यक्ति पनि थिएनन्। उनको त्यहाँ आउनुको कुनै तार्किक कारण थिएन। ठकुरीले सोधे, “तपाईं किन भित्र जान लाग्नुभयो?“ जवाफमा तिलकले अश्लील शब्दहरू प्रयोग गर्दै गालीगलौज गर्न थाले। उनको एकोहोरो जिद्दी थियो – भित्र पस्ने।
जब स्वास्थ्यकर्मीहरूले उनलाई रोके, उनको उन्माद झनै बढ्यो। प्रसूति कक्षमा प्रवेश गर्न नपाएपछि उनको रिसको पारो चढ्यो। उनले नजिकै रहेको रबरको कुर्सी उठाएर भुइँमा बजारे। कुर्सी टुक्रा–टुक्रा भयो। त्यसपछि उनले आफ्नो मुक्काले प्रसूति कक्षको ढोकामा जोडले हाने। ढोकामा लागेको प्रहारले भित्र प्रसव पीडामा छटपटाइरहेकी युवतीको मुटुमा डरको हथौडा बजारेको थियो।
“यस्तो नगर्नुस् भाइ, यहाँ बिरामी हुनुहुन्छ,“ ठकुरीले फेरि सम्झाउन खोज्दा तिलक उनीमाथि नै जाइलागे। उनले ठकुरीलाई समाते। स्वास्थ्य चौकीमा त्यो बेला ठकुरी र अर्का एक पुरुष स्टाफबाहेक सबै महिला थिए। सबै मिलेर बल्लतल्ल तिलकलाई गेट बाहिरसम्म धकेले। स्वास्थ्यकर्मीहरूले सोचे, “मदिरा सेवन गरेको मान्छे हो, होहल्ला गर्यो, अब गयो होला।“ उनीहरू आफ्नो काममा फर्किए। भित्र, ती युवतीको पनि सफल प्रसूति भइसकेको थियो। आमा र बच्चा दुवैको अवस्था सामान्य थियो। स्वास्थ्यकर्मीहरूले लामो सास फेरे। आतंकको एउटा अध्याय सकियो भन्ने उनीहरूलाई लागेको थियो। तर, त्यो उनीहरूको भ्रम थियो। खास आतंक त अब सुरु हुँदै थियो।
केही मिनेटको अन्तरालपछि, स्वास्थ्य चौकीको गेटमा फेरि त्यही कोलाहल सुनियो, तर यसपटक त्यो झनै डरलाग्दो र भयावह थियो। तिलक मल्ल फर्किएका थिए, तर यसपटक उनको हात खाली थिएन। उनको हातमा खसी–राँगा काट्ने एउटा ठूलो, चम्किलो र नाङ्गो खुँडा थियो। रातको मधुरो उज्यालोमा त्यो खुँडाको धार टल्किँदा यस्तो लाग्थ्यो, मानौं साक्षात यमराज नै त्यहाँ अवतरण भएका थिए।
उनी गेटमा खुँडाले हान्दै, पार्किङमा राखिएका गाडीहरूमा तोडफोड गर्दै, स्वास्थ्यकर्मीहरूलाई निशाना बनाएर अपशब्द र गालीगलौज गर्दै भित्र पसे। “कहाँ छ त्यो डाक्टर? आज त्यसलाई काट्छु!“ उनको या बोेलीले स्वास्थ्य चौकी परिसर गुञ्जायमान भयो। यो दृश्य देखेर सबैको होस हवास उड्यो। नर्सहरू, भर्खरै सुत्केरी भएकी महिला, उनका कुरुवाहरू र अन्य स्टाफहरू डरले काम्न थाले। उनीहरूले आफूलाई कोठाभित्र बन्द गरे। प्रमुख ठकुरीका अनुसार, त्यो क्षण जीवनकै सबैभन्दा डरलाग्दो क्षण थियो। “उहाँले हामीलाई मार्ने धम्की दिनुभयो। हामी सबैजना ज्यान जोगाउन यताउता भाग्यौं। भर्खरै जन्मिएको शिशु र आमाको अवस्था के होला भन्ने चिन्ताले सताइरहेको थियो। आकस्मिक अवस्थामा बिरामीलाई रेफर गर्नुप¥यो भने प्रयोग हुने गाडीमा समेत उनले तोडफोड गर्न थाले,“ ठकुरी त्यो त्रासदीपूर्ण रात सम्झिन्छन्।
तिलकको आतंकले सीमा नाघिसकेको थियो। उनी खुँडा नचाउँदै स्वास्थ्यकर्मीहरूलाई खोजिरहेका थिए। यतिकैमा, कसैले तिलकको घरमा खबर गरिदिए। केही स्थानीय र तिलककी आमा घटनास्थलमा आइपुगिन्। एकजना महिलाले आँट गरेर उनको खुँडा खोस्ने प्रयास गरिन्, तर तिलकको बलको अगाडि उनको केही लागेन। अन्ततः, आफ्नै छोराको राक्षसी रूप देखेर आत्तिएकी आमाले उनलाई अँगालो हालेर खुँडा खोसिन् र घरतिर लगिन्। त्यतिबेलासम्म स्वास्थ्यकर्मीहरूले इलाका प्रहरी कार्यालय, आठबिसकोटमा खबर गरिसकेका थिए। प्रहरीको टोली तुरुन्तै घटनास्थलतर्फ लाग्यो। र उनलाई पक्राउ गर्यो ।
समाजिक संजालमा भाइरल बन्यो भिडियो
यो घटनाको एउटा एक मिनेट सत्ताइस सेकेण्डको भिडियो पछि सामाजिक सञ्जालमा भाइरल भयो भिडियोको सुरुवातमा, मध्यरातको चकमन्न अन्धकारलाई चिर्दै स्वास्थ्य चौकीको हिलो र पानी जमेको आँगन देखिन्छ। हातमा चम्किलो खुँडा बोकेका तिलक मल्ल आक्रोशमा छटपटाइरहेका छन्। उनलाई करिब ४०–५० वर्षकी एक महिला (सम्भवतः उनकी आमा) ले पछाडिबाट अँठ्याएर रोक्ने प्रयास गरिरहेकी छिन्। तर, तिलकको उन्मादको अगाडि उनको बल अपुग देखिन्छ।
“मैले गल्ती गर्या थिएँ?“ तिलक बारम्बार चिच्याउँछन्, “मलाई आएर हान्ने?“ उनको आवाजमा आफूमाथि अन्याय भएको पीडा र बदलाको भावना प्रस्टै झल्किन्छ। उनको यो प्रश्नले घटनाको पछाडि अर्को कुनै कथा लुकेको संकेत गर्छ। केही बेरमा, उनी ती महिलाको पकडबाट फुत्केर स्वास्थ्य चौकीको आँगनतिर बढ्छन्। “पुलिस बोला, पुलिस! …म काट्दिन्छु!“ भन्दै उनी जथाभावी बोल्छन् ्। त्यहीबीचमा, धातुमा खुँडा बज्रिएको एक डरलाग्दो ’क्ल्याङ’ आवाजले वातावरणलाई झनै आतंकित बनाउँछ। सायद उनले कुनै गाडी वा गेटमा खुँडाले हानेका थिए।
“बाउ आउनुपर्यो, बाउ!“ उनी कसैलाई चुनौती दिइरहेका छन्। उनको आक्रोशको निशाना को हो भन्ने स्पष्ट नभए पनि उनको हाउभाउले कुनै पनि बेला अप्रिय घटना घट्न सक्ने संकेत गरिरहेको छ।
फेरि ती महिलाले उनलाई समात्छिन्, तर संघर्ष जारी रहन्छ। यही घम्साघम्सीबीच उनको रिसको वास्तविक कारण खुल्छ। उनी चिच्याउँछन्, “आएर किन हान्छ त? डाक्टरको हात छ भनेर हान्ने?“ यो संवादले उनको आक्रोश कुनै स्वास्थ्यकर्मीप्रति लक्षित रहेको र त्यसभन्दा अघि कुनै प्रकारको भनाभन वा हातपात भएको हुन सक्ने अनुमान लगाउन सकिन्छ। सायद जब ठकुरीले उनलाई बाहिर निकाल्न खोजे, त्यसलाई उनले आफूमाथिको आक्रमण ठानेका थिए। त्यसपछि, अर्की एक महिला पनि उनलाई सम्हाल्न आइपुग्छिन्। दुईजना महिलाले उनलाई रोक्न खोज्दा पनि उनी आफ्नो अडानबाट पछि हट्दैनन्। “म रक्सी पनि खाएको छैन, अलिकति ला’होला,“ उनी आफ्नो कार्यलाई सही ठहर्याउने प्रयास गर्छन्, “मलाई यो मन्जुरै छैन!“ भिडियोको अन्त्यसम्म पनि त्यो संघर्ष मत्थर हुँदैन। दुई महिलाले उनलाई समातिरहेका छन्, र उनी खुँडासहित उम्किने प्रयासमा छन्।
घटनालगत्तै पुगेको प्रहरी टोलीले तिलक मल्ललाई उनको घरबाटै पक्राउ गर्यो। मंगलबार, स्वास्थ्य चौकी प्रमुख देव चन्द ठकुरी र अन्य स्टाफहरूले इलाका प्रहरी कार्यालय, आठबिसकोटमा ज्यान मार्ने उद्योग र स्वास्थ्य संस्थामा तोडफोड गरेको भन्दै जाहेरी दिए। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालयले तिलकलाई जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिममा पठायो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरि पुनका अनुसार, मल्ललाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। उनलाई “आपराधिक उपद्रव“ मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी प्रमेश विष्टले भने, “मल्लमाथि अनुसन्धान हुँदैछ, उनी मादक पदार्थ सेवन गरेर गएको देखिन्छ। के कारणले स्वास्थ्य चौकीमा गएर त्यस्तो हर्कत गरेको भन्ने यकिन कारण खुल्न बाँकी छ।“
यो घटनाले केही गम्भीर प्रश्नहरू खडा गरेको छ। के तिलक मल्लको आक्रोश केवल मदिराको मात मात्र थियो, वा त्यसको पछाडि कुनै पुरानो रिसइबी वा तत्कालको कुनै विवाद थियो? भिडियोमा उनले “मलाई आएर हान्ने?“ भन्नुको अर्थ के थियो? के स्वास्थ्यकर्मीले उनलाई बाहिर निकाल्ने क्रममा भएको सामान्य बल प्रयोगलाई उनले आक्रमणको रूपमा लिए? वा त्यहाँ अरू नै केही भएको थियो? यी प्रश्नहरूको जवाफ प्रहरी अनुसन्धानले नै देला।
घेत्ला स्वास्थ्य चौकीको यो घटना एउटा व्यक्तिले मदिराको सुरमा मच्चाएको वितण्डा मात्र होइन। यो हाम्रो समाजको एउटा कुरूप ऐना पनि हो। यसले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको सुरक्षामाथिको गम्भीर खतरालाई उजागर गरेको छ। दिनरात नभनी, सीमित स्रोत र साधनका बीच नागरिकको जीवन बचाउन खटिने स्वास्थ्यकर्मीहरू आफैं कहिले सुरक्षित हुने? यदि जीवन दिने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरू नै यसरी असुरक्षित हुन्छन् भने आम नागरिकले कसरी सुरक्षित महसुस गर्ने? त्यो रात, देव चन्द ठकुरी र उनका सहकर्मीहरूको सुझबुझ र स्थानीय महिलाहरूको साहसले एउटा ठूलो मानवीय क्षति हुनबाट जोगियो। तर, हरेक पटक भाग्यले साथ नदिन सक्छ।
