काठमाडौं । आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाइएको छ। भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका–साँगामा रहेको झोलुङ्गे पुलमा रकम उठाउने विषयलाई लिएर अभद्र व्यवहार गरेको र पालिकाले राखेको सूचना समेत च्यातेको आरोपमा सूर्यविनायक नगरपालिकाले उनीहरू विरुद्ध प्रहरीमा आपराधिक उपद्रवको जाहेरी दायर गरेको थियो ।
भक्तपुर जिल्ला अदालत न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले फैसला सुनाउँदै तामाङसहित दुवैजनालाई पाँच दिनको जेल सजाय तोकेको जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन्।
साथै, अदालतले प्रत्येक दोषीलाई ५ सय रुपैयाँ जरिवाना, पीडित दामासाहीलाई ८ हजार ३ सय रुपैयाँ क्षतिपूर्ति र पीडित राहत कोषमा जनही २०० रुपैयाँ भर्नुपर्ने आदेशसमेत दिएको छ।
आशिका तामाङले पुलमा भएको विवादबारे आफ्नो गल्ती स्वीकार गरेकी थिइन् ।
