काठमाडौँ । रक्सीले मातेका श्रीमानले राति ११ बजे आफ्नै श्रीमतीलाई बाँसको लाठी र खसी काट्ने हँसियाले तड्पाई–तड्पाई हत्या गरे । त्यसपछि घरभित्रको भान्सा कोठामै कम्बलले पोको पारेर खाल्डो खनी गाडिदिए । कसैलाई यो घटनाबारे बताएमा मारिदिने भन्दै आफ्नै छोरीलाई धम्की दिए । यो घटनाबारे चार दिनसम्म कसैले पत्तो पाएनन् ।
यो सुन्दा कुनै चलचित्रको कथाभन्दा कम लाग्दैन, तर यो दुखद घटना पूर्णतः वास्तविक हो ।
दश वर्षअघि जीवनभर साथ दिने कसम खाएर विवाह गरेका अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नं. ४, पातलेपोखराका ३६ वर्षीय किरण गुरुङले आफ्नै ३४ वर्षीया श्रीमती सुमित्रा कुमाल गुरुङको फिल्म शैलीमा हत्या गरेका हुन् । प्रहरीले घटनास्थलबाटै हत्या गर्न प्रयोग भएको बाँसको लाठी, हँसिया, गैँची, बेल्चा, सानो कोदालो बरामद गरेको छ ।
प्रहरीका अनुसार श्रीमानले श्रीमतीसँगको विवादपछि कुटीकुटी हत्या गरेर घरकै भान्सा कोठामा गाडेको शव चार दिनपछि फेला परेको हो । जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका अनुसार श्रीमान–श्रीमतीबीच वादविवाद भएकोमा श्रीमानले बाँसको लाठी तथा हँसियाको पछाडिको भागले शरीरका विभिन्न भागमा हानेर श्रीमतीको हत्या गरेको तथ्य खुलेको छ ।

प्रहरीले फेला पारेका हत्यामा प्रयोग गरिएका हतियारहरु
९ वर्षकी छोरी सरु गुरुङसँगै बस्दै आएका उनीहरूमध्ये सुमित्रालाई ४–५ दिनदेखि छरछिमेक तथा माइती पक्षले नदेखेपछि हराएको भनी प्रहरीमा खबर गरेका थिए । प्रहरी चौकी बल्कोटमा मौखिक उजुरीपछि प्रहरीले खोजी तथा अनुसन्धान सुरु गरेको थियो । यही भदौ १२ गते श्रीमान–श्रीमतीबीच वादविवाद भएकोमा किरणले सोही दिन बाँसको लाठी तथा हँसियाको पछाडिको भागले शरीरका विभिन्न भागमा हानेर हत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी, प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार शव कम्बलमा पोको पारी आफ्नै घरको भान्साकोठामा खाल्डो खनी गाडेको अवस्थामा फेला परेको थियो । मृतकको लास सडेर गन्ध आएको अवस्थामा फेला पारी सोमबार राति प्रहरी टोलीले उत्खनन् गरी पोस्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँची पठाएको छ । प्रहरीले किरण गुरुङलाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखेको पनि जनाएको छ ।
किरण र सुमित्राको १० वर्षअगाडि प्रेम सम्बन्ध भई विवाह भएको थियो । दुवैको यो दोस्रो विवाह थियो । उनीहरूको एक ९ वर्षकी छोरी छिन् । किरणको पूर्व श्रीमतीतर्फ २ छोरी रहेका छन् भने सुमित्राको पूर्व श्रीमानतर्फ ३ छोरा रहेका छन् ।
यही भदौ ११ गते पातलेपोखरास्थित भजनकीर्तनको कार्यक्रममा उपस्थित भई करिब ११:३० बजे किरण घरतर्फ गएको र राति करिब १२ बजे श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सो समयमा किरणले मादक पदार्थ सेवन गरेको पनि प्रहरीको भनाइ छ ।
यो पनि पढ्नुहोस:
बिहे गरेको २ महिनामै दीपा यादवको पनि हत्या, गम्भीर घाइते बनाएर श्रीमानले नै लगेका थिए अस्पताल
सप्तरीको महादेवा गाउँपालिका–१, सोनरा टोलमा दुई महिनाअघि मात्रै विवाह भएकी २१ वर्षीया दीपाकुमारी यादवको शनिबार उनकै श्रीमानले हत्या गरेका छन् । दाइजोको निहुँमा श्रीमान र ससुरा मिलेर बिहे गरेको दुई महिनामै दीपाको हत्या गरिएको हो । दुई महिनादेखि नै दीपालाई उनका पति २५ वर्षीय दीपककुमार यादव र ससुरा परशुराम यादवले गालीगलौज गर्दै थप दाइजो ल्याउन दबाब दिँदै आएका थिए ।
पछिल्लो पटक शुक्रबार दीपकले दीपाकी भाउजू डाक्नेश्वरी नगरपालिका–४, भुतहीकी सुजितालाई फोन गरेर अर्को विवाह गर्छु भनी धम्की दिँदै दीपालाई लैजान भनेका थिए । तर, त्यसलगत्तै पटक–पटक रातिसम्म फोन गर्दा पनि कसैले फोन नउठाएको सुजिताले बताइन् ।
शनिबार सोनरा टोलभन्दा छेउको गाउँमा फोन गर्दा उनीहरूको घरमा विवाहपछि झगडा हुँदै आएको थाहा पाएपछि सोनराका लागि निस्कनै लाग्दा दीपालाई अस्पताल लगेको जानकारीमा आएको उनले बताइन् । बिरामी परेको भन्दै पति दीपक र ससुरा परशुरामसहितकाले शनिबार दीपालाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगेका थिए । तर, उनको अस्पताल पु¥याउनुअघि नै मृत्यु भइसकेको थियो ।
दीपाको शव अस्पतालको शवगृहमा राखिएको छ भने उनका परिवारले दीपाको हत्या भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।
दाइजो नदिँदा दीपक र परशुरामले योजनाअनुसार दीपाको हत्या गरेको पीडित परिवारको दाबी छ ।
सप्तरी प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले घटना शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि मृतकका पति र ससुरालाई नियन्त्रणमा लिएको बताएका छन् । आइतबार राइटसंचारसँगको कुराकानीमा बस्नेतले भने, ‘घाँटीमा नीलडाम पनि देखिएको छ अनि सुरुमा उनीहरूले प्रहरी वा दीपाका परिवारलाई पनि जानकारी गराएका छैनन् ।’ उनले थपे, ‘शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ, रिपोर्ट आउन एक हप्ता लाग्न सक्छ, उनको हत्या नै गरिएको हो ।’
