काठमाडौँ । नेपाल सरकारले मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै फेसबुक, युट्युब, ट्विटर (एक्स) लगायत २६ वटा सामाजिक सञ्जालहरूलाई आजदेखि बन्द गरेको छ। तर, चिन्ता नलिनुहोस्, नेपालमा दर्ता प्रक्रिया पूरा गरेका ६ वटा सामाजिक सञ्जाल भने निर्बाध रूपमा सञ्चालनमा रहनेछन्।
टिकटक: सामाजिक सद्भावमा नकारात्मक असर पारेको भन्दै कात्तिक २०८० मा प्रतिबन्ध लागेको टिकटक ६ भदौ २०८१ मा सर्तसहित फुकुवा भई कात्तिक २०८१ मा सञ्चार मन्त्रालयमा सूचीकृत भएको थियो।
भाइबर: मेसेजिङ एप भाइबर फागुन २०८० मा सञ्चार मन्त्रालयमा सूचीकृत भई प्रतिबन्धबाट जोगिएको छ।
निम्बज: असोज २०८१ मा सूचीकरण भएको निम्बज (सुपर एप) पनि निर्बाध चल्नेछ।
विटक: चैत २०८१ मा प्रक्रिया पुर्याएर सूचीकरण भइसकेको विटक पनि चल्नेछ।
पोपो लाइभ: पछिल्लो पटक गत महिना मात्रै सूचीकरण भएको पोपो लाइभ पनि प्रतिबन्धमा परेको छैन।टेलिग्राम: टेलिग्रामले पनि सूचीकरणका लागि निवेदन दर्ता गराइसकेको र कागजात अध्ययनकै क्रममा रहेको जानकारी दिइएको छ। यो पनि चाँडै नै पूर्ण रूपमा चल्ने अपेक्षा गरिएको छ।
सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको भए पनि, माथि उल्लेखित यी ६ प्लेटफर्महरूले भने कानूनी प्रक्रिया पूरा गरेकाले नेपाली प्रयोगकर्ताहरूले निर्बाध रूपमा प्रयोग गर्न सक्नेछन्।
