काठमाडौँ । जीवनमा केही घटना यस्ता हुन्छन् जसले गहिरो छाप छोड्छन्, पीडा दिन्छन्, र कहिलेकाहीँ त आशाका सम्पूर्ण ढोकाहरू बन्द गरिदिन्छन्। नुवाकोटकी सुन्तली खड्काका लागि उनको प्राणभन्दा प्यारो स्कुटी हराउनु पनि त्यस्तै एक दुर्घटना थियो। उनका त्यो स्कुटी मात्र थिएन, त्यो त उनको परिश्रम, आत्मनिर्भरता र भविष्यको सपनाको प्रतीक पनि थियो। फर्निचर बोक्ने र जीवन गुजार्ने उनको माध्यम पनि थियो त्यो।
पन्ध्र दिनअघि लगनखेलबाट जब बा ५६ प ७५५१ नम्बरको त्यो स्कुटी हरायो, सुन्तलीको मनमा अँध्यारो छायो। धेरै खोजिन्, हारगुहार गरिन्, तर कुनै पत्तो लागेन। समय बित्दै जाँदा मनले भन्यो— “अब भेटिँदैन। जे नहुनु थियो, त्यही भयो।“ उनले लामो, निराशलाग्दो सास फेरिन् र आफूलाई सम्झाइन्, “नयाँ किन्नुपर्ला।“ तर, त्यसको लागि पैसा जुटाउनु कति कठिन थियो, त्यो उनीबाहेक कसैलाई थाहा थिएन। हराएको स्कुटीको पीडाले उनको दैनिक जीवन मात्र होइन, रातको निन्द्रा पनि खोसिसकेको थियो। पीडाको घाउ बल्झिरहेकै बेला, बुधबार दिउँसो सुन्तलीको मोबाइलमा एउटा अपरिचित नम्बरबाट फोन आयो। आधा मनले फोन उठाइन्। कानमा लगाउनेबित्तिकै उताबाट आएको आवाजले उनको मुटुको धड्कन केही पल रोक्योः “तपाईंको स्कुटी सकुशल भेटियो। भोलि लिन बग्गीखाना आउनु।“
एकछिन त सुन्तलीलाई विश्वास नै लागेन। यो त कुनै साथीले ठट्टा गरेको हुनुपर्छ! यस्तो सुखद् खबर यति सजिलै कसरी आउन सक्छ र? उनले मनमनै सोचिन् “कसैले जिस्काएको होला।“ स्कुटी हराएको चोटले यति गहिरो अविश्वास पैदा गरेको थियो कि, उनलाई सत्य स्वीकार गर्न पनि कठिन भयो। तर, जब उनले फोन गर्ने व्यक्तिको परिचय थाहा पाइन्, उनको आँखामा एकाएक आँसु भरिए। ती व्यक्ति अरू कोही थिएनन्— उनी थिए उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौंका प्रमुख, एसएसपी नवराज अधिकारी स्वयंम ।
पशुपति क्षेत्रमा चार दिनअघि भेटिएको स्कुटीलाई प्रहरीले अनुसन्धान गरी धनी पत्ता लगाएको थियो, र यो खुसीको खबर प्रमुख अधिकारीले आफैंले फोन गरेर सुन्तलीलाई सुनाएका थिए। यो खबर सुन्तलीसहित हजारौँ पीडितका लागि घाउमा लगाइएको मलम बराबर थियो। लामो समयदेखिको तनाव, चिन्ता र अनिदो जीवनबाट उनले एकाएक मुक्ति महसुस गरिन्। त्यो रात उनलाई पटक्कै निन्द्रा लागेन। पीडाले दिने अनिदो र खुसीले दिने अनिदोमा कति फरक हुँदो रहेछ! त्यो रात उनले बारम्बार घडी हेरिन्, मनमनै सोचिन— “कतिबेला उज्यालो होला र म बग्गीखाना जाउँला।“ उनको मनमा एउटै कुरा थियो— आफ्नो प्यारो स्कुटीलाई फेरि स्पर्श गर्ने।
अर्को दिन, आज बिहीबारको उज्यालोसँगै सुन्तलीको अनुहारमा पनि खुसीको चमक फर्कियो। हातमा केक र धन्यवादस्वरूप खादा बोकेर उनी बिहान ठीक १० बजे बग्गीखाना पुगिन्। उनको मनमा कृतज्ञताको भाव थियो, र अनुहारमा ठूलो मुस्कान। बग्गीखाना पुग्दाको दृश्य सुन्तलीका लागि अविस्मरणीय थियो। त्यहाँको दृश्य चकित पार्ने खालको थियो— ५० भन्दा बढी मोटरसाइकल र स्कुटरहरू लस्करै लहरमा राखिएका थिए। ती सबै सवारीसाधन ’हराएका’ थिए, र तिनका धनीहरू ’सुन्तली’ जस्तै आशा मारिसकेका थिए। त्यही लस्करमा सुन्तलीले आफ्नो स्कुटीलाई रोकिएको देखिन्। बा ५६ प ७५५१।
उनी दौडिइन् र सुरुमा आफ्नो स्कुटीलाई अँगालो हालेजस्तै समाइन्। त्यो स्पर्शमा गहिरो प्रेम, वियोग र मिलनको भाव थियो। केही पल उनी भावुक भइन्, बोल्नै सकिनन्। त्यसपछि उनको आँखाबाट खुसीका आँसु झर्न थाले।
उनले त्यहाँ उपस्थित ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीलाई धन्यवाद दिइन्। रुँदै आफ्नो पिडा सुनाइन्— कसरी यो स्कुटी उनको जीवनको आधार थियो। स्कुटी फिर्ता पाउँदाको त्यो पल ।
हुन त आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सुन्तली जस्तै ५० भन्दा बढी सवारीधनीहरूको आँसु पुछिदिने काम गरेको थियो।
यो त सुन्तली खड्काको निजी कथा भयो। तर, यो कथा उपत्यका ट्राफिक प्रहरी कार्यालय र विशेषतः प्रमुख एसएसपी नवराज अधिकारीको कुशल नेतृत्वको एउटा सानो उदाहरण मात्र हो। नेपाल प्रहरीमा उच्च मर्यादा र नैतिकताका लागि चिनिने अधिकारी पछिल्लो समय आफ्नो कामकै कारण जनतामाझ चर्चाको शिखरमा छन्। उनी सिर्फ कार्यालयमा बसेर आदेश दिने हाकिम मात्र होइनन्, बरु फिल्डमा उत्रिएर जनताको समस्या समाधान गर्ने प्रतिबद्ध अधिकारी हुन्। एसएसपी अधिकारीको नेतृत्वमा ट्राफिक प्रहरीले दुई प्रमुख कामहरु अहिले चर्चामा छन् । अधिकारीले गरेको पहिलो काम हो, ठूलो स्वर निकालेर ’आतङ्क’ फैलाउने गाडीहरू, जथाभावी पार्किङ गर्ने र कानुन मिच्ने सवारीचालकहरूलाई नियन्त्रणमा लिएर उनले सडक अनुशासन कायम गर्नु । नियम कानुनको पालना गराउँदै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन उनको पहल सराहनीय छ। उनको कडा कदमले आम नागरिकमा ’कानुन सबैका लागि बराबर छ’ भन्ने सन्देश गएको छ। अधिकारीले गरेको दोस्रो काम हो, मानवीय सेवा र हराएका सवारीसाधनको खोजी गर्नु । सबैभन्दा महत्त्वपूर्ण र हृदयस्पर्शी कार्य हो— हराएका सवारीसाधनको खोजी र धनीलाई हस्तान्तरण। चोरी भएका वा हराएका सवारीसाधनहरू प्रायः फेला पर्दैनन् भन्ने आम धारणालाई ट्राफिक प्रहरीले बदलिदिएको छ। विसं २०८१/८२ को सुरुवातमै ५० वटा मोटरसाइकल तथा स्कुटरहरू एकैसाथ धनीलाई हस्तान्तरण गर्नुले प्रहरीको लगनशीलता र अनुसन्धान क्षमताको स्पष्ट प्रमाण दिन्छ।
सुन्तलीको स्कुटी भेटिनु, र भेटिएका सवारीसाधनमध्ये कतिपय राम्रो अवस्थामा हुनु, कतिपयका पार्टपुर्जा निकालिएको वा नचल्ने अवस्थामा हुनुले चोरी गर्ने गिरोहहरू सक्रिय भए पनि प्रहरीको उपस्थिति र कारबाही उनीहरूभन्दा बलियो रहेको प्रमाणित हुन्छ।
