विराटनगरबाट निर्माण सामाग्री लोड गरी सप्तरीको राजविराजतर्फ जाँदै गरेको ट्रक हुलाकी राजमार्गमा आज बिहान पल्टिँदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
दुर्घटना बिहान करिब साढे ५ बजे भोक्राहा नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा भएको हो । प्रहरीका अनुसार को१ख ४५४१ नम्बरको ट्रक नियन्त्रण गुमाउँदा पल्टिएको थियो । ट्रकमा टायल र मार्बलको भारी लोड थियो ।
ट्रकमा जम्मा ९ जना सवार थिए । जसमध्ये क्याबिनमा चालकसहित ४ जना र पछाडि सामानमाथि ५ जना मजदुर बसेका थिए । दुर्घटनापछि ट्रक पल्टिँदा पछाडि बसेका मजदुरहरूमाथि टायल र मार्बल खसेर थिचिएका कारण उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेका छन् ।
यी सबैजना सुनसरीको बर्जु गाउँपालिका वडा नं. १ का एकै बस्तीका बासिन्दा रहेका छन् । उनीहरू सबै मजदुरको रूपमा काम गर्दै आएका थिए ।
घाइते तीन जनाको विराटनगरको नर्सिङ होममा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
ट्रकको चालक भने दुर्घटनापछि फरार भएका छन् । प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।
