नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भोलि आइतबार काठमाडौंमा विशेष जनप्रदर्शन तथा खुला सभा आयोजना गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको औपचारिक चुनावी अभियान सुरु गर्ने भएको छ ।
पार्टीका सचिव तथा बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले पत्रकार सम्मेलनमार्फत यो जानकारी दिएका हुन् । उनले भने, “माघ ४ गते काठमाडौंमा विशेष जनप्रदर्शन र खुला सभामार्फत एमालेले चुनावमा होमिएको सन्देश दिनेछौं । हामीले कहिल्यै पनि चुनावमा भाग लिँदैनौं भनेका छैनौं, तर अहिले चुनावको उचित वातावरण नभएको हाम्रो गुनासो हो ।”
एमालेको केन्द्रीय कमिटी बैठकले पुस २६ गते फागुन २१ को निर्वाचनका लागि देशव्यापी अभियान सुरु गर्ने निर्णय गरेको थियो। यसै क्रममा काठमाडौंबाट चुनावी अभियानको थालनी गर्न लागिएको हो ।
बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामाले प्रदेशअन्तर्गतका १८ वटै निर्वाचन क्षेत्रमा जित हासिल गर्ने रणनीति बनाइएको बताएकी छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टी पूर्ण रूपमा एकजुट भएको र चुनावी तयारी तीव्र पारिएको दाबी गरेका छन् ।
यो शक्ति प्रदर्शनले एमालेको संगठनात्मक शक्ति तथा निर्वाचनमा भाग लिने प्रतिबद्धता देखाउने अपेक्षा गरिएको छ । कार्यक्रममा ठूलो संख्यामा कार्यकर्ता तथा समर्थकहरू जम्मा हुने अनुमान नेकपा एमालेको रहेको छ ।
