धनगढीः दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका बाढीपहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गरिएको छ। गत भदौ १३ गतेको बाढी र पहिरोले ठूलो जनधनको क्षति हुनुका साथै केही बस्ती क्षतविक्षत भएको थियो सोही बाढी र पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारसँग अनुरोध गरिएको हो।
सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकारसँग पीडितलाई राहत र पुनःस्थापनाका लागि प्याकेज घोषणा गरिदिन मुख्यमन्त्री त्रिलोचन भट्टसँग माग गरिएको छ। यता, मुख्यमन्त्री भट्टले पनि तत्काल मृतकका परिवारलाई सहज तरिकाले राहत दिने आश्वासन दिएका छन्।
गत भदौ १३ गते दुहु गाउँपालिकाका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परेर पाँच जनाको ज्यान गएको थियो। बाढी र पहिरोले ६४ घरपरिवार पूर्ण रुपमा विस्थापित भएका थिए। ९५ घर उच्च जोखिममा र ११५ घरमा आंशिक क्षति भएको दुहुँ गाउँपालिकाको तथ्यांकमा उल्लेख छ।
यस्तै ५ माइक्रो हाइड्रो, ६ झोलुंगे पुल, एउटा मोटरेबल पुल पूर्ण रुपमा क्षति भएको तथ्यांकमा उल्लेख छ। यसैगरी तीन किलोमिटर सडक, दर्जन बढी खानेपानी आयोजना, कुलो, सामुदायिक र विद्यालय भवनमा क्षति पुगेको छ।
