भारतीय फिल्मजगत्मा चर्चित अभिनेता रजनीकान्तका ज्वाँइ धनुषको नाम पनि अग्रस्थानमा आउँछ । पछिल्लो समय श्रीमती ऐश्वर्या रजनीकान्तसँगको सम्बन्धविच्छेदका कारण अभिनेता धनुष चर्चामा छन् ।
करियरको कुरा गर्नुपर्दा उनी पछिल्लोपटक चलचित्र ‘अतरंगी रे’मा देखिएका थिए । यस फिल्ममा धनुषको अभिनयको धेरै तारिफ भयो । आज सुपरस्टारको परिचय पाएका धनुषले कुनै समय आफ्नो रूपका कारण चर्को आलोचना सहनुपर्थ्यो । यस कुराको खुलासा धनुष आफैँले हालै फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा गरेका छन् ।
संयोगले अभिनेता
मेरो अभिनेता बन्ने चाहना कहिले भएन । मेरो मन यतातिर थिएन । यद्यपि, मलाई सानै उमेरमा अभिनय गर्न बाध्य पारिएको थियो । मैले अभिनय सुरु गर्दा अभिनय सिकेको थिइनँ । त्यसपछि मैले महान् फिल्म निर्माता बालु महेन्द्रलाई भेटेँ । उहाँ एक अद्भुत सिनेमेटोग्राफर पनि हुनुहुन्छ ।
उहाँले मलाई लिएर एउटा फिल्म बनाउनुभयो । हामीबीच कुरा हुँदा उहाँले भन्नुभएको थियो, “अहिले तिमी सानै छौ ।”
खासमा त्यति बेला म १९ वर्षको मात्र थिएँ ।
उहाँले भन्नुभएको थियो, “मैले तिमीमा जे देखिरहेको छु, त्यो तिमीले देख्दैनौ । तिमीसँग केही विशेष छ । यसलाई तिमीले गम्भीरतापूर्वक लिनुपर्छ । मलाई आशा छ कि तिमीले यसलाई छिटैै देख्नेछौँ । जब कसैले तिमीलाई यो भन्छ, तब बल्ल तिमीले भन्नेछौ कि मसँग यो छ र म यसलाई गम्भीरतापूर्वक लिइरहेको छु ।”
रूपका कारण ट्रोलको सिकार
मैले सानो उमेरमै काम सुरु गरेँ । म १६ वर्षको थिएँ, जब मैले फिल्ममा काम सुरु गरेँ । मैले मेरो लुक (रूप)का कारण धेरै आलोचनाको सामना गर्नुपर्यो । सुरुमा मलाई धेरै ब्लकबस्टर सफलताका साथ स्वागत गरियो । अपितु, मैले धेरै असफलताहरू पार गर्नुपर्यो ।
यो सबै म किशोरावस्थामा हुँदा भएको थियो । अब म धेरै परिपक्व भइसकेको छु र मसँग अनुभव पनि छ । त्यसैले यी कुराहरू कसरी ह्यान्डल गर्नुपर्छ भन्ने राम्रोसँग थाहा छ । तर, १७/१८/१९/२० वर्षको उमेरमा यो संसारबारे पूरै अन्जान हुँदा पनि मैले ह्यान्डल गरेकोप्रति म गौरवान्वित छु । मलाई मार्गदर्शन गर्ने कोही थिएन । कुनै अनुभव थिएन । परिपक्वता थिएन । तथापि, त्यो किशोरले यसलाई राम्रोसँग ह्यान्डल गर्यो ।
गल्ती दोहोर्याउँदिनँ
यदि, मैले त्यसो भने म झुटो बोल्न सक्छु– सफलताले मलाई असर गर्छ, असफलताले पनि असर गर्छ । असफलताले मलाई दुःखी बनाउँछ । सफलताले मलाई खुसी बनाउँछ । म एक सामान्य मानिस हुँ र म आफ्नो असफलताबाट सदैव सिक्ने प्रयास गर्छु । र, गल्तीहरू दोहोर्याउँदिनँ । म प्रयास गर्छु कि सफलताले भविष्यमा गर्ने निर्णयहरूमा असर नगरोस् । बाहिर होइन, मेरो दिमागभित्र सफलताको आनन्द लिन्छु ।
