ताप्लेजुङमा पछिल्लो केही दिनयता दिनहुँजसो हिमपात भइरहेको छ । माघ महिनाको दोस्रो सातायता प्रायः धुम्मिदो मौसमका कारण जिल्लाको उच्च भेगमा निरन्तर हिमपात हुँदै आएको छ।
निरन्तरको हिमपातले उच्च क्षेत्रको जनजीवन भने कष्टकर बन्दै गएको छ । हिमपात र मौसम नखुल्दा बालबालिका तथा वृद्धवृद्धा प्रभावित भइरहेको स्थानीयको दुखेसो छ । शुक्रबार बिहानैदेखि पनि उच्च भेगमा बाक्लो हिमपात भइरहेको छ । यहाँका हिमाली बस्तीहरु फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोला, याङ्मा, फक्ताङ्लुङकै वडा नंम्वर ६ लेलेपको घुन्सा, फले, ग्याब्लालगायतमा क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन् । घुन्साका कासाङ शेर्पाले लामो समयदेखि हिमपात जारी रहँदा जनजीवन कष्टकर बनेको बताएका छन् ।
