पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जनतासँग देशको सम्प्रभुता र लोकतन्त्रमाथिको सबैभन्दा ठूलो हमलाविरुद्ध अघि बढेर रक्षामा उत्रिन अपिल गरेका छन् । इमरान खानले ट्वीट गरेर जनताले नै सधैँ देशको सम्प्रभुता र लोकतन्त्रको सबैभन्दा बलियो रक्षक भएको बताएका छन् । उनले एकपटक पुनः आरोप लगाउँदै भने, ‘विदेशी शक्ति यहाँ केही स्थानीय सहयोगीको माध्यमले पाकिस्तानको लोकतन्त्र र उसको सम्प्रभुतामाथि हमला गरिरहेको छ ।’
इमरान खानले भने, ‘अब देशको जनताले यसविरुद्ध अघि बढेर यसको रक्षा गर्नुपर्नेछ । ’
उनले विदेशी शक्तिलाई मद्दत गरिरहेका यस्ता स्थानीय सहयोगीलाई मिर जाफर र मिर सादिकको संज्ञा दिए । पाकिस्तानमा केही दिन अघि विपक्षले इमरान खानको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको थियो तर आइतबार यसमाथि भोटिङ अघि उप–सभामुखले अविश्वास प्रस्ताव खारेज गरेका थिए । त्यसपछि इमरान खानको सल्लाहमा राष्ट्रपति आरिफ अल्वीले संसद् भंग गरिदिए ।
अब यो मामिला पाकिस्तानको सर्वोच्च अदालतमा विचाराधीन छ ।
