अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी सैन्य कारबाहीमार्फत पक्राउ गरेपछि ल्याटिन अमेरिकी देशहरूलाई पनि कडा चेतावनी दिएका छन् । भेनेजुएलामा सफल कारबाहीपछि ट्रम्पले कोलम्बिया, मेक्सिको र क्युबालगायतका देशहरूले आफ्नो व्यवहार नसुधारेमा उनीहरू पनि कारबाहीको शिकार हुन सक्ने संकेत गरेका छन् ।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘कोलम्बिया पनि धेरै बिरामी छ, त्यहाँको नेताले कोकेन बनाएर अमेरिका पठाइरहेको छ, र यो लामो समयसम्म चल्नेछैन ।’ उनले मेक्सिकोको कार्टेल समस्या र क्युबाको असफलताबारे पनि कडा टिप्पणी गरेका छन् । ट्रम्पले मोन्रो सिद्धान्तको उल्लेख गर्दै पश्चिमी गोलार्धमा अमेरिकी प्रभाव कायम राख्ने संकल्प व्यक्त गरे ।
यो कारबाही र चेतावनीले ल्याटिन अमेरिकामा त्रास फैलाएको छ । मेक्सिको, कोलम्बिया र ब्राजिललगायतका देशहरूले अमेरिकी हस्तक्षेपको निन्दा गर्दै क्षेत्रीय स्थिरता खल्बलिएको बताएका छन् । केही विश्लेषकहरूका अनुसार ट्रम्पको यो कदमले उनलाई थप हौसला दिएको छ र अन्य देशहरूमा पनि सैन्य हस्तक्षेप हुन सक्ने जोखिम बढाएको छ ।
ट्रम्पले इरानलाई पनि प्रदर्शनकारीहरूमाथि दमन गरे कारबाही गर्ने चेतावनी दिएका छन् । विश्वभरि ट्रम्पको यो आक्रामक विदेश नीतिले ठूलो बहस निम्त्याएको छ ।
