दक्षिण अफ्रिकाका एक पास्टर क्रिस्ट पेनेलोपाले आफ्ना अनुयायीहरूको अनुहारमा पादेरै रोग निको पार्ने भन्दै अनौठो अनुष्ठान गरेर विश्वभर चर्चा बटुलेका छन् ।
उनले यो कार्यलाई परमेश्वरको शक्तिको प्रदर्शन बताउँदै यसले विभिन्न शारीरिक तथा आध्यात्मिक समस्या निको पार्ने दाबी गरेका छन् ।
सेभेनफोल्ड होली स्पिरिट मिनिस्ट्रीज का संस्थापक पास्टर पेनेलोपाले भनेका छन्, ‘यो मांसले होइन, विश्वासद्वारा हुन्छ । निको पार्ने शक्ति नाकबाट शरीरभित्र प्रवेश गर्छ ।’ उनले बाइबलको कथासँग तुलना गर्दै भनेका छन्, ‘परमेश्वरले आदमलाई गहिरो निद्रामा राखेर उनको शरीरमा काम गर्नुभयो, त्यसैगरी यो पनि त्यस्तै हो । जब अनुयायीहरू ‘गहिरो निद्रामा’ हुन्छन्, उनीहरूले केही महसुस गर्दैनन् ।’
यो अनुष्ठानको फोटोहरू सामाजिक सञ्जालमा भाइरल भएपछि ठूलो विवाद उत्पन्न भएको छ । यो अभ्यासलाई धेरैले कडा विरोध गरेका छन् । अन्य धार्मिक अगुवाहरू, चिकित्सकहरू तथा सर्वसाधारणले यसलाई असुरक्षित, अपमानजनक र वास्तविक नभएको बताएका छन् ।
यो घटना सन् २०२१ मा पहिलो पटक भाइरल भएको भए पनि हालै फेरि सामाजिक सञ्जालमा चर्चा बढेको छ ।
