काठमाडोँ । नेपाली भलिबलको नेटमाथि जब कविता भट्टको हात उठ्थ्यो, विपक्षी खेलाडीको स्पाइक निस्तेज हुन्थ्यो। उनी कोर्टमा एउटा अग्लो र भरपर्दो पर्खाल जस्तै थिइन्, जसलाई छिचोल्न विपक्षीलाई हम्मेहम्मे पर्थ्यो। तर, आज त्यो पर्खाल देशको खेलकुदको जगलाई नै कमजोर बनाउँदै भत्किएको छ। कविताले भलिबल कोर्टलाई मात्र होइन, हजारौं समर्थकको विश्वास र सपनालाई पनि ‘ब्लक’ गरेर अष्ट्रेलियाको बाटो रोजेकी छन्।
यो पलायनको शृङ्खलाको पछिल्लो र दुःखद कडी हो। केही समयअघि मात्रै अर्की स्टार खेलाडी सरस्वती चौधरीले पनि यस्तै गरी एपीएफ र राष्ट्रिय टिमलाई छाडेर अष्ट्रेलियाको यात्रा तय गरेकी थिइन्। त्यो घाउमा खाटा बस्न नपाउँदै कविताको राजीनामाले नेपाली भलिबललाई अर्को गहिरो झट्का दिएको छ।
समर्थकका लागि कविता एउटी खेलाडी मात्र थिइनन्, उनी एउटा आशा थिइन्। जब उनी मैदानमा उत्रिन्थिन्, दर्शकको आवाजले हल गुञ्जिन्थ्यो। उनले लगाएको देशको जर्सीले हजारौं युवा खेलाडीलाई भलिबलमा भविष्य खोज्न प्रेरित गर्थ्यो। विभागीय टोलीमा रहेर पाएको जागिर र राष्ट्रिय टिमको प्रतिष्ठाले उनलाई यहाँ रोक्न सकेन। यसले एउटा तीतो सत्य उजागर गर्छ – देशको माया र खेलप्रतिको लगावमाथि खेलाडीको असुरक्षित भविष्य हाबी हुँदैछ।
कति सजिलै भनिदियौं हामी, “कविता अष्ट्रेलिया पलायन भइन्।” तर यसको पछाडि लुकेको पीडा र निराशालाई कसले बुझ्ने? एउटा खेलाडीले देशको जर्सी लगाउन वर्षौं पसिना बगाउँछ, रगत बगाउँछ। तर जब त्यही जर्सीले उसको भविष्यको ग्यारेन्टी दिन सक्दैन, जब खेल जीवनपछि अँध्यारो मात्र देखिन्छ, तब सायद उसँग पलायनको विकल्प बाँकी रहँदैन। तर, समर्थकको मन पनि त हो। जसले आफ्नो खेलाडीलाई भगवान् मानेर पुजेको हुन्छ, उसको हरेक सफलतामा आफू सफल भएको महसुस गर्छ, उसको लागि यो निर्णय एउटा धोका हो। आज तिनै कविताले आफ्ना समर्थकको मुटुमाथि नै ‘स्पाइक’ गरेकी छन्। उनले त्यो विश्वास तोडेकी छन्, जुन विश्वासले उनलाई ‘राष्ट्रिय खेलाडी’ बनाएको थियो।
अब भलिबल खेल्न आउने नयाँ बहिनीहरूले कसलाई आफ्नो आदर्श मान्लान्? जब देशका उत्कृष्ट खेलाडीहरू नै एउटा निश्चित उमेर र सफलतापछि सुरक्षित भविष्यको खोजीमा विदेशिन्छन्, तब नयाँ पुस्ताले खेलकुदमा के आशा देख्ने? यो केवल कविताको व्यक्तिगत निर्णय मात्र होइन, यो देशको खेलकुद प्रणालीमा लागेको गहिरो रोगको लक्षण हो, जहाँ खेलाडीलाई सम्मान छ, तर भविष्य छैन। कविताले अष्ट्रेलियामा राम्रो भविष्य बनाउलिन्, तर उनले नेपालमा एउटा रित्तोपन छाडेर गएकी छन्। त्यो रित्तोपन उनको क्लब एपीएफमा मात्र होइन, राष्ट्रिय टिमको मिडल ब्लक पोजिसनमा मात्र होइन, हरेक भलिबल समर्थकको मनमा छ।
