काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअघि नेपाली क्रिकेटमा एउटा महत्वपूर्ण व्यावसायिक सम्झौता भएको छ। एग्रो बाई फुड्स प्रालिद्वारा उत्पादित एक्सट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ वटा फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर बनेको छ। कम्पनीले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग तीन वर्षका लागि प्रायोजन सम्झौता गरेको हो।
सम्झौताअनुसार अब यी ६ टोलीका खेलाडीले मैदानमा लगाउने जर्सीको अगाडिको मुख्य भागमा एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ। एउटै ब्रान्डले एकैपटक ६ वटा फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरको सम्झौता गर्नु नेपाली क्रिकेटकै लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
कम्पनीले यो लगानीलाई व्यावसायिक उद्देश्यमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग पनि जोडेको जनाएको छ। कम्पनीका अनुसार खेलकुदमार्फत राष्ट्रिय पहिचान प्रवद्र्धन गर्ने, नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाउने तथा नेपाली क्रिकेटको विकासमा योगदान पु¥याउने उद्देश्यले यो लगानी गरिएको हो।

निजी क्षेत्रबाट खेलकुदमा भएको यो लगानी लागत र सहभागिताका हिसाबले ऐतिहासिक मानिएको छ। पछिल्ला केही वर्षयता नेपालमा फ्रेन्चाइज क्रिकेटको लोकप्रियता बढ्दै गइरहेका बेला निजी क्षेत्रको यस्तो सहभागिताले प्रतियोगितालाई थप व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले एउटै ब्रान्डले एनपीएलका ६ वटा टोलीलाई टाइटल स्पोन्सर गर्नु नेपाली क्रिकेटको विकास र प्रवद्र्धनका लागि नयाँ कोशेढुंगा भएको बताए। उनले निजी क्षेत्रको यस्तो लगानीले नेपाली क्रिकेटलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
एक्सट्रिम इनर्जी ड्रिंक्स यसअघि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजक रहिसकेको छ भने फुटबल, भलिबल, म्याराथनलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सहकार्य गर्दै आएको छ।
एनपीएलको तेस्रो संस्करणअघि भएको यो सम्झौताले प्रतियोगिताको व्यावसायिक पक्षलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै, निजी क्षेत्रको बढ्दो लगानीले नेपाली क्रिकेटको विकास, खेलाडीको अवसर विस्तार तथा खेलकुद उद्योगलाई थप सशक्त बनाउने विश्वास पनि व्यक्त गरिएको छ।
